चितवन,जेठ २ गते । रातो तारा डट कम, एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ ।
पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
केरा बगान सफाइ गरिरहनुभएका कालिका नगरपालिकाको– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित हुनु
हुन्छ । खेताला लगाएर बगान सफाइ गरिरहनुभएका उहाँले भन्नुभयो, “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ ।
चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उहाँका अनुसार कम्तीमा पनि रु ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आउनुभएका चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उहाँ बताउनुहुन्छ ।
चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । उहाँजस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् । कालिका नगरपालिका– ५ का बाबुलाल चौधरीको पनि लाखौँ रुपैयाँको केरा क्षणभरमै सोत्तर भएको छ । उहाँले पनि बगान सफाइ गर्ने तयारी गर्दै गर्दा अब केराखेती गर्ने कि नगर्ने टुङ्गो नलागेको बताउनुभयो ।
Post a Comment