Websoft University

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड



इनरुवा, २० वैशाख (रासस) ः सुनसरीमा विद्यार्थी भर्ना अभियान– २०७५ सम्बन्धी सरोकारवालाको एक दिने समीक्षात्मक कार्यशाला बुधबार सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा अपांगता भएका र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउनका लागि अभियानलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले बताएका छन् ।

विभिन्न कारणले विद्यालय बाहिर रहेकालाई लक्षित गरेर थालेको विद्यालय भर्ना अभियान कार्यक्रमअन्तर्गत भर्ना अभियानलाई प्रभावकारी बनाइनुपर्ने उनीहरुले बताए । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइको अगुवाइमा थालिएको भर्ना अभियान कार्यक्रममा केही बालबालिकाको भर्ना गराइएको एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकालाई अनिवार्य र निःशुल्क भर्ना गराई टिकाउने अभियानस्वरुप सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले सहयोग गर्नका लागि आग्रह गर्ने गरी विद्यार्थी भर्ना अभियान २०७५ सम्बन्धी सरोकारवालाको एक दिने समीक्षात्मक कार्यशाला सम्पन्न गरेको सुवेदीले बताउनुभयो ।

कार्यक्रममा हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा, एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहँुच सुनिश्चितता र सिकाइमा स्थायित्व, मूलनाराका साथ शिक्षा एकाइका उपसचिव दुर्गाप्रसाद खतिवडाले अवधारणापत्र प्रस्तुत गर्नुभयो ।

भर्ना अभियानसम्बन्धी कार्यशालामा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले शिक्षामा गुणस्तरको अभाव रहेका कारण भर्ना अभियान कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगर गाउँपालिकामा शिक्षाको अवस्था निकै चिन्ताजनक अवस्थामा रहेको बताउनुभयो । अन्सारीले आफ्नो गाउँपालिकामा भएका विद्यालयमा शिक्षक दरबन्दी पूरा हुँदासमेत विद्यार्थी संख्या न्यून रहेको बताउनुभयो ।

बर्जू गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले शिक्षाको कुरा आफूहरुका लागि पुरानै विषय भएपनि भर्ना अभियान र विद्यार्थी टिकाइ राख्ने चुनौती एक अर्कासँग विपरीत तर घनिष्ट सम्बन्ध रहेकाले शिक्षामा सोचेजतिको परिवर्तन हुन नसकेको तर्क गर्नुभयो ।

त्यसैगरी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले शिक्षाको लगानी बालुवामा पानीको स्थितिमा रहेकाले शिक्षक र प्रधानाध्यापकको काम गर्ने शैलीका कारण शैक्षिक गुणस्तर खस्कँदै गएको बताउनुभयो । अभियान कार्यक्रम ल्याएर मात्र नहुने भएकाले यसको व्यावहारिक कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने मेहताले बताउनुभयो ।

यता गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले भर्ना अभियान कार्यक्रम नारामा सीमित बनेको बताउनुहँुदै विद्यालयको वातावरण बालमैत्री र गुणस्तरीय शिक्षा भर्ना अभियानका लागि आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मीको तर्फबाट पवन रौनियार, शिक्षकको तर्फबाट शिक्षक राष्ट्रिय संगठनका रामबहादुर विष्ट, देवनारायण यादव, पुरुषोत्तम घिमिरे, स्रोतव्यक्ति सोमराज ढकाल, शिक्षाका लेखाजोखा संयोजक शम्भु पोखरेल लगायतकाले विद्यालय भर्ना अभियानको बारेमा बोल्नुभएको थियो । वक्ताले शैक्षिक गुणस्तर कायम भए सामुदायिक विद्यालयमा भर्नाको दर बढ्ने तर्क गरेका छन् ।
––– 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.