सुनसरी, वैशाख २९ गते । रातो तारा डट कम,
सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन् ।
विभिन्न कारणले जेल जीवन व्यतित गरिरहेका कैदीबन्दी जेलभित्रै मुढा बनाएर आय आर्जन गर्दैआएका छन् । जेलका चौकीदार खड्ग राईका अनुसार कैदीबन्दीले मुढा बनाएर मासिक रु नौ हजारदेखि रु १२ हजारसम्म आम्दानी गर्दैआएका छन् ।
“कैदीबन्दीले मासिक पाँच हजारभन्दा बढी मुढा निर्माण गरी बिक्री गर्ने गरेका छन्,” राईले भन्नुभयो । मुढा बनाउन आवश्यक पर्ने धागो, बाँस, साइकलको टायर, डोरीलगायत सामग्री जुटाउन कारागार प्रशासनले सहयोग गर्दैआएको छ । कैदीबन्दीको कारागार जीवनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मुढा बनाउन सामग्री जुटाएको उहाँ बताउनुहुन्छ ।
कैदीबन्दीले समूहमा काम गरी समूहमै आम्दानीसमेत गर्ने गरेका छन् । आम्दानी भागबण्डा गरी कामको आधारमा लिने गरेको चौकीदार प्रेम लावतीले बताउनुभयो । कैदीबन्दीले समूहमै टायर काट्ने, बाँसको टुक्रा बनाउने र डोरी तथा धागो लगाउने काम गर्नेगरेका छन् ।
कैदीबन्दीले मुढासँगै बाँसको रचनात्मक फूल, फुलदानी र विभिन्न खेलौना बनाई आम्दानी गरिरहेका छन् । उनीहरुले बाँसको कलात्मक हस्तकलाका सामग्री तयार गर्र्ने गरेका
छन् । कच्चा पदार्थ हप्तामा एक पटक ल्याउने गरेको कारागारका जेलर गणेश अधिकारीले बताउनुभयो । कैदीबन्दीले रु २०० को लगानीमा एउटा मुढा निर्माण गरी रु २८० सम्ममा बिक्री गर्ने गरेका छन् ।
“बिक्री गर्न बजारको समस्या छैन,” अधिकारीले भन्नुभयो । क्षेत्रीय कारागार झुम्कामा अहिले एक हजार ४३४ कैदीबन्दी रहेका छन् ।
Post a Comment