काठमाडौँ, वैशाख २४ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिनुभएको हो।
एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।” उहाँले सम्पूर्ण सांसदहरुलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताउनुभयो । उहाँले आजदेखि बजेट अधिवेशन शुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढंगले संसदमा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिनुभयो ।
बजेट निर्माण गर्दा सबै पक्षहरुसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरु छोटो र लिखितरुपमा पेश गर्न उहाँले बैठकमा सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिनुभयो । एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रहरुसँग समुचित ढंगले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गर्नुभयो । (तस्बिर र श्रव्य सागम्री उपलब्ध छ)
Post a Comment