श्याम राई-उदयपुर,गाईघाट, जेष्ठ २६ गते । रातो तारा डट कम,सडकमा परेको जग्गा विक्री गरेको अभियोगमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ ।
सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको मिलन चौकको ७ कठ्ठा १९ धुर जग्गा विक्री गरेको अभियोगमा त्रियुगा नगरपालिका वडा न. ३ का ७८ वर्षिय शिब प्रसाद दाहाल र छोरा बुद्धि प्रसाद दाहाललाई शनीबार पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. नवराज भट्टले बताए ।
गाईघाट–कदमाहा सडक बन्ने क्रममा दाहालको जग्गा सडकमा परेको उनले बताए । सडकमा परेको उक्त जग्गालाई उनीहरुले अर्कै जग्गा देखाएर विक्री गरेको रहेछन् । शिब प्रसादको नाममा रहेको जग्गा बुद्धि र नाती विरेश दाहालको मिलीमतोबाट विक्री भएको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।
नाती विदेशमा रहेकोले अहिले बाबु छोरालाई मात्र पक्राउ गरेर अनुसन्धान शुरु गरेको उनले बताए ।
बाबु छोराले ललितपुरको खोकना–३ का नेपाल डंगोललाई २०७५ जेष्ठ १६ गते १ करोड २७ लाख २० हजारमा जग्गा विक्री गरेका थिए । विक्री भएको जग्गामा हाल राजमार्गमा परेको छ । उक्त जग्गा नापी र मालपोतको कर्मचारीको मिलिमतोमा विक्री भएको हुन सक्ने आशंका गरिएको छ ।
झण्डै २५ वर्ष अघि कदमाहा–गाईघाट सडक बनाउने क्रममा दाहालको ८ कठ्ठा जग्गा मध्ये १ धुर मात्र बाकी रहेर अरु सबै सडकमा परेको थियो । सडकमा परेको उक्त जग्गा नापी र मालपोतले लगत कट्टा नगरेकोले दाहाल बाबु छोराले झुक्काएर विक्री गरेको प्रहरीले जनाएको छ ।
Post a Comment