सुनसरी, साउन १८ गते।रातो तारा डट कम
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहिबार राती १०:३० बजे सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ।
नेपालबाट भन्सार छली गरी भारततर्फ लैजादै गरेको अन्दाजी १ लाख २९ हजार ७ सय ५० रुपैया बराबरको मदिरा, नम्बर नभएको २ वटा मोटरसाइकल सहित ७ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी देवानगन्ज गाउँपालिका २ बस्ने वर्ष ३२ को अमरेश भन्ने अमरकान्त यादव, भारत अररिया जिल्ला नवावगन्ज-११ बस्ने वर्ष १५ को विप्लव कुमार यादव, सोही ठाउँ बस्ने वर्ष १९ को बिकास कुमार शर्मा, वर्ष ३० को सुवास यादव, वर्ष ४१ को सरद यादव, वर्ष २५ को बिकास कुमार यादव र वर्ष २० को श्रवण कुमार यादव रहेका छन।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले विशेष सुचनाका आधारमा देवानगन्ज गाउँपालिका ४ स्थित नेपाल भारत सिमाना नजिकै १५ जनाको समुह टाउकोमा बोरा बोकेर भारततर्फ जादै गरेको देखेपछि उनीहरुलाई पक्राउ गरी बोरा चेकजाँच गर्दा ५ हजार १ सय ९० बोतल उमङ र दिलवाले नाम गरेको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नजिकै खेतमा समेत मदिराका कार्टुन थुपारेर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ।
बरामद मदिरा तथा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख २९ हजार २ सय ५० रुपैया रहेको र शुक्रबार आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Post a Comment