काठमाण्डौं, भदौ २१ गते । रातो तारा डट कम, रसुवा, वर्षाका कारण अवरुद्ध नेपाल–चीनबीच रसुवाखण्डको राजमार्ग २१ गते अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार रसुवागढी नजीकैको पहरो फुटाली नयाँ ट्रयाक खोलिएपश्चात् मालबाहक सवारीसाधन आवतजावत गर्न थालेका हुन् ।
राम्चे क्षेत्रमा भने गएराति पहिरो आई पाँच÷छ घण्टा अवरोध आएपनि बिहान ९ बजेदेखि बाटो खुलाइसकिएको छ । धुञ्चेको त्रिशूली नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्रयाक खोली यातायात सञ्चालन गरिएको छ ।
रसुवाखण्डको पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँशी रसुवागढी खण्डमा कुनै अवरोध नआउने, निर्वाधरुपले मालबाहक ट्रक कन्टेनरबाट सामान आयातनिर्यात गर्न सबै व्यवसायीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
डिभिजन सडक प्रमुख नीरज शाक्यले रसुवागढी नजीक घट्टेघोला पुल सबलीकरण गर्ने कार्यसमेत सम्पन्न भइसकेकाले अब गल्छी–धुञ्चे–रसुवागढी–केरुङ राजमार्ग सिधा सम्पर्क भइसकेको बताउँदै आकस्मिकरुपमा हुनसक्ने प्राकृतिक प्रकोपबाहेक अन्य समयमा राजमार्ग अवरुद्ध नहुने दाबी गर्नुभयो ।
स्याफ्रुबेँशी–गोल्जुङ भन्ज्याङबीच वर्षाका कारण अवरुद्ध पासाङल्हामु मार्गसमेत सोमबारबाट सञ्चालनमा आएको छ । साञ्जेन जलविद्युत् आयोजनाले छ दिनको अवधिमा डोजर एवं लोडर प्रयोग गरी सडक सञ्चालन गरेको उक्त आयोजनाका प्रशासकीय अधिकृत सुनिल रेग्मीले जानकारी दिनुभयो ।
Post a Comment