काठमाण्डौं असोज ८ गते । रातो तारा डट कम,राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसदले चाडबाडका बेला सवारी साधन व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न र स्रष्टाको संरक्षण गर्न आग्रह गर्नुभयो ।
सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र समस्या समाधान गर्न उहाँले सुझाव दिनुभयो ।
सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुप¥यो’ भनी सञ्चारमाध्यममा आएको समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आफूले पाएको विचार राख्नुभयो ।
महाअभियोगका नाममा यसअघि नेपाली काँग्रेसले गरेको गल्ती नदोहो¥याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयोे । सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभयो ।
सांसद वृषेशचन्द्र लालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने औँल्याउनुभयो । सांसद रामनारायण बिंडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै विरोध गरेकामा आपत्ति जनाउनुभयोे ।
सांसद शेरबहादुर कुँवरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको सहयोगमा गर्नुपर्ने बताउँदै त्यसका लागि जनता ५० प्रतिशत शेयर राख्न तयार छन् भन्नुभयो ।
सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गर्नुभयो ।
सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईँँ, खेमराज नेपाली, रामप्रीत पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ ।
Post a Comment