काठमाण्डौं,मंसिर १० गते । रातो तारा डट कम,सिन्धुली–जुनारको आम्दानीले यहाँको तिनकन्या गाउँनै परिवर्तन भएको छ। विगत ५ वर्ष अगाडिसम्म विक्रीका लागि हम्मे हम्मे हुने जुुनारले बोटबाटै राम्रो मुल्य पाउन थालेपछि जुनारले गाउँनै परिवर्तन हुँन थालेको हो । रातो इट्टाबुट्टे घर निलो जस्तोको छानो सानो भएपनि चिटिक्क परेको घर। हेर्दै घरभित्र पस्न मन लाग्ने। घरको बाहिरपट्टी स्कुटर,यो घर हो यहाँको गोलञ्जोर गाउँपालिका ४ तीनकन्याकी देवी ठकुरीको। विनाशकारी भूकम्प गएको दुई वर्षमै चिटिक्क घर यस गाउँका स्थानीयले बनाएका थिए। जुनार बेचेको आम्दानीलेनै तत्कालै घर बनाउन आर्थिक जोहो भएको यहाँका स्थानीय बताउँछन्।
वरपरी हरियाली जुनारका बोटमा पहेलपुर दाना हेर्दै लोभलाग्ने गाउँ देखिन थालेको छ तिनकन्या। यहाँको साविकको तीनकन्या गाविस सदरमुकामबाट झन्डै २२ किलोमिटर बिपी राजमार्ग र अरु १८ किलोमिटरजती कच्चि सडकको यात्रा पछि पुगिने ठाउँ हो। सडक दुरीको हिसाबले विकास निर्माण गर्ने पक्षको आखाँ अलि पछि मात्रै पर्ने स्थान अन्तर्गत यो गाउँ पर्छ। तर त्यहाँ पुग्दा सदरमुकाम नजिकैको गाउँ भन्दा बढी विकसित भएको देखिन्छ। जिल्लाको मुख्य नगदे बालिकै रुपमा परिचित जुनारले यस गाउँको मुहार फेरेको छ।
जुनारको मुख्य सिजनमा झन्डै ४ महिना मिहिनेत गरेर मालामाल हुने किसानको आयस्रोत चानचुने सरकारी जागिरले भेट्दैन। जुनार उत्पादन राम्रो भएको वर्ष यस गाउँका ठुला बगैंचा भएका एउटै किसानले २० देखि २५ लाखसम्म आम्दानी गर्ने गरेको सुनाउँछन्। किसानी पेशाबाट त्यत्तिको आम्दानी सुन्दा कथाजस्तै लाग्छ। तर यस गाउँका बगैचामा पाकेका पहेलपुर जुनारले त्यो आम्दानीलाई कथामा नभएर यथार्थ बनाएको छ। मंसिरको दोस्रो साताबाट खानयोग्य हुने जुनार यस वर्ष भने फल कुहाउने औषा देखिन थालेपछि समय अगावै किसान धमाधम जुनार बेच्न व्यस्त छन्।
शनिबार तिनकन्या पुग्दा त्यहाँका बगैचामा किसान जुनार धमाधम टिप्दै थिए। हामीले कार्तिकबाटै जुनार विक्री गर्यो, चैतसम्म पनि बेच्छ, ठकुरीले आफ्नै भाषामा भनिन्। डेढ दशक अगाडिसम्म बोटमै कुहिएर जाने जुनार हाल महंगो मुल्यमा बोटबाटै विक्री हुने भएपछि किसानको दैनिकी मात्रै होइन गाउँकै मुहार फेरिएको छ। प्रत्येक घरमा जस्ताको छानो सिमेन्ट प्लास्टर गरेका गाह्रो र घर अगाडि नीजि सवारी देख्न सकिन्छ यस गाउँमा। बिपी राजमार्गले हिमालदेखि तराईसम्म जोडेपछि जुनारको माग उच्च भएसँगै किसानले राम्रो मुल्य पाउँदा आम्दानी आकासिएको हो।
यस गाउँका जुनार बगैचा भएका किसानले वार्षीक २–४ लाख प्राय किसानले कमाउँछन्, तिनकन्याकै लोकबहादुर आलेले भने। ४ सयदेखि ५ सय जुनारका बोट भएका किसानले वार्षीक १५–२० लाख कमाएकै छन्। तीनकन्या गाविसमा मात्रै जुनारबाट १२ करोड बढी रकम वार्षीक भित्रिने गरेको छ। थोरै हुनेले ५ लाख कमाउछन् भने धेरै जुनार खेती गर्नेले मोटो रकम लिन्छन्। जुनारको उपभोग गर्ने उपभोक्ता बढेपछि तत्काल उत्पादन भएको जुनारले उपभोक्ताको माग धान्न नसक्ने अवस्था आउन थालेकोको छ।
यसवर्ष भने फल कुहाउने मिन्याक्स नामक किराको प्रकोपले जुनार किसान चिन्तित छन्। वर्षेनी लाखौं आम्दानी गर्दै आएको बगैंचामा किराको प्रकोपले छोएपछि यस गाउँका किसान चिन्तित देखिएका हुन्। जुनारको बोटमा किसानले किराको प्रकोप नआओस् भन्नका लागि फेदमा रङ लगाउनेदेखि जुनार बगैंचा व्यवस्थापनसम्म गर्न किसान जुटेका छन् तर त्यत्ति गर्दा गर्दै पनि जुनारमा किराको समस्या देखिन थालेको भन्दै उनीहरू गुनासो गर्छन्। जुनार क्षेत्रका गाउँगाउँमा मोटर बाटो पुगेपछि घरघरमै व्यापारीले बोटमै मोलमोलाई गर्न थालेका छन्।
जुनार विकास संघका अध्यक्ष दिपक कोइरालाले भने, जुनार सिजन अगावै मोटो रकम दिएर किन्छन्। पहिले रोपेका जुनारका रुख बुढो भइसक्यो कोहि बोट मरिसक्यो त कोहि बोट थोरै दाना मात्रै दिने भएको छ, उनले भने पछिल्लो समय रोपेका विरुवाले फल दिने बेला भएको छैन त्यसैले माग अनुसार जुनार धान्न नसक्ने भएको हो। गाउँगाउँमा सडक सञ्चालनमा आएपछि जुनारको माग बढेको भन्दै माग बढेसँगै मुल्य बढ्दा किसानको आर्थिक स्थिति सुधार भई गाउँको मुहार फेरिएको स्थानीय बताउँछन्। यहाँ धेरैजसोको घरमा मोटरसाइकल सवारी छ, स्थानीय दानबहादुर मगरले भने, छोराछोरीको कमाइको आस यहाँका बुढापाकाले गर्दैनन्, जुनारलेनै राम्रोसँग घरव्यवहार धानेको हुन्छ।
किसानले उत्पादन गरेको जुनार सिन्धुली सदरमुकाम भन्दा बढी विपी राजमार्गमै विक्री गरी आम्दानी गर्ने गरेका छन्। विगत एक दशक अगाडिसम्म बजारको समस्या हुँदा किसान जुनार सहकारीलाई गुहार्थे तर हाल बजारको अभाव नभएका कारण किसानले बजारको खोजिमा भौतारिनु नपरेको जुनार सहकारी संघले जनाएको छ। बिपी राजमार्ग खुलेसँगै जुनारले राम्रो मुल्य पाउन थालेको छ। राजमार्ग हुदै पुर्वी तराईका विभिन्न जिल्ला आवातजावत गर्ने यात्रुलाई जुनार महत्वपूर्ण फलफूल हुनाले जतिपनि तिरेर जुनार किन्दा यहाँको तीनकन्या रतनचुरा बाशेश्वर जलकन्या लगायतका गाविसका किसानको जिवनस्तर उक्सिएको छ।
सिन्धुलीका ४५ गाविसमा जुनार खेतीका लागि उचित मौषम रहेपनि यहाँको जलकन्या तिनकन्या बाशेश्वर मझुवा वितिजोर भुवनेश्वरी लगायतका गाविसमा मात्रै जुनारको व्यवसायीक खेती हुँदै आएको छ । यि गाविसका ३५ सय बढी युवा तथा अन्य किसान जुनारमै आत्मानिर्भर छन् ।
Post a Comment