काठमाण्डौं,पुस २७ गते । रातो तारा डट कम,नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिनुभएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नु भएको थियो ।
यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चअधिकारीले सिंहदरबार अगाडीको पृथ्बीनारायण शाहको शालिकमा पुगेर माल्र्यापण गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको दृष्टिकोण वर्तमान सरकारका लागि प्रेरणा हुनसक्ने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका यी जीवन्त दृष्टिकोणहरूबाट वर्तमान सरकारले प्रेरणा लिन सक्ने पनि स्पष्ट पार्नुभएको हो ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताउनुभएको छ । २९७ औं पृथ्वी जयन्तिका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभिनै सक्ने थिएन,” प्रधानमन्त्रीले भन्नुभएको छ, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।” प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताउनुभएको छ ।
Post a Comment