काठमाण्डौं,पुस २६ गते । रातो तारा डट कम,चिनी उद्योगी र किसानका प्रतिनिधीबीच दुई दिन भित्र चिनी उद्योग सञ्चालन गर्ने सहमति भएको छ । गएसाँझ अवेरसम्म महोत्तरीको बर्दिवासमा भएको वार्तामा सरकारले यस वर्षका लागि तोकेको न्यूनतम मूल्य प्रति क्वीन्टल पाँच सय ३६ रुपिँया ५६ पैंसालाई स्वीकार गरेर उखु क्रसिङ सूरु गर्ने सहमति भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
चिनीको मूल्यमा केही रकम वृद्धि गरेर उद्योगीहरु तत्काल उद्योग सञ्चालन गर्न सहमत भएका हुन् । पुस सक्किनै लाग्दा समेत उद्योग सञ्चालन नहुँदा उखु सुक्नै लागेकाले किसान अत्तालिन थालेका उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले बताउनुभयो । उद्योगीहरुको विभिन्न बहानाबाजीका कारण यो अवस्था आएको भन्दै किसानले गुनासो गरेका छन् ।
निकै दुःख गरेर उत्पादन गरेको उखुको मूल्य तय गर्न, बिक्री गर्न र बिक्री गरेको मूल्य लिन पछिल्लो समय किसानले धर्ना बस्नुपर्ने, सडक जाम गर्नुपर्ने र बारम्बार सरकारलाई घचघच्याउनुपर्ने अवस्था आएको मैनालीले बताउनुभयो । उहाँका अनुसार सर्लाहीका उखु किसानले अझैपनि गत वर्ष उद्योगमा उखु बिक्री गरेबापत सरकारले दिने भनेको अनुदान रकम पाउन सकेका छैनन् ।
Post a Comment