शिव भट्टराई -पुस २५ गते । रातो तारा डट कम,भट्टराई कुल वंश प्रतिष्ठानको रजत महोत्सव भव्य रुपमा मनाइने भएको
छ । प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा यहि पुस २७ देखि तीन दिनसम्म भव्य रुपमा मनाइने रजत महोत्सवमा देश विदेशका भट्टराईहरु भेला हुने भएका हुन् ।
बुधबार प्रतिष्ठान केन्द्रीय कार्यालय दमक–४ बशिष्ठ आश्रममा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले रजत महोत्सवका बारेमा जानकारी गराएको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले तीन दिनसम्म गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
प्रतिष्ठान केन्द्रीय कार्यालय परिसरमा आयोजित महोत्सवको उद्घाटन पुस २७ गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गर्ने, सोही दिन सम्मान, स्वास्थ्य शिएविर तथा रक्तदान कार्यक्रम राखिएको उहाँले बताउनुभयो । यस्तै, पुस २८ गते खुला कवि गोष्ठी, विविध साँस्कृतिक कार्यक्रम, कुल दर्शन, भजन किर्तन तथा पुस २९ गते समापन कार्यक्रम गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
देश विदेशमा रहेका भट्टराई बन्धुहरुलाई एकत्रित गर्ने उद्देश्यले वि.सं. २०५० सालमा स्थापना भएको प्रतिष्ठान पाँच विगाहा १२ धुर क्षेत्रफलमा फैलिएको छ । प्रतिष्ठान परिसरमा विभिन्न मन्दिर तथा भवनका साथै बशिष्ठ ऋषि र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक समेत निर्माण गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले महोत्सव आयोजनाको औचित्यमाथि प्रकाश पर्नुभएको थियो । उहाँले नेपालका सात वटै प्रदेशका साथै सिक्किम, आसाम, बंगाल र बर्मामा राज्य समिति गठन गरिएको जानकारी दिनुभयो । साथै, सात वटै प्रदेश समितिले जिल्ला तथा नगर समिति गठन प्रक्रियालाई तीब्रता दिएको जनाउनुभयो ।
महोत्सवमा मुलुकभरका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, आसाम, बंगाल र बर्माबाट पनि बन्धुहरुको सहभागिता रहने महासचिव चन्द्रप्रसाद भट्टराईले बताउनु
भयो । तीन दिने कार्यक्रममा विभिन्न क्षेत्रको उच्च तहमा रहेका भट्टराई बन्धुहरुको सहभागिता रहने उहाँले जानकारी दिनु
भयो ।
Post a Comment