श्याम राई-गाईघाट,पौष २१ गते । रातो तारा डट कम,
त्रियुगा नगर क्षेत्रमा साता यता बहुला कुकुरको विगविगी बड्नाले स्थानीय बासिन्दा आतंकीत बनेका छन् । दुई दिन यता बहुला कुकुरको टोकाईबाट ३० भन्दा बढीले अस्पतालमा उपचार गाराई रहेकाछन् ।
विहीबार र शुक्रबार २७ जनालाई बहुला कुकुरले टोकेको छ । अस्पताल भर्ति भएका उनीहरुलाई चिकित्सकले रेविज विरुद्धको भ्याक्सिन लगाएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । नगर क्षेत्रको वडा न. ४, ९, १२ र १३ मा केही दिनदेखि बौलाह कुकुरको विगविगी बढे पछि स्थानीयलाई घरदेखि बाहिर निस्कन समस्या परेको छ ।
शुक्रबार बहुला कुकुरले टोक्दा सकलदेव दास, रामेश्वर दाहाल शान्ति राई पवित्रा पौडेल र अम्बिका पौडेल गम्भिर घाईते बनेकोले अस्पतालले उनीहरुलाई उपचारको लागि काठमाडौं रेफर गरेको छ ।
कुकुरले ठूलै घाउ बनाएर टोकेको कारण अस्पतालले रेविज विरुद्धको भ्याक्सिन दिएर अझ उपचार प्रभावकारी हुने इमिनोग्लोविन भ्याक्सिन लगाउन उनीहरुलाई काठमाडौं रेफर गरेको आकस्मिक कक्षमा कार्यरत चिकित्सक श्याम चौधरीले बताए ।
त्रियुगा नगरपालिका गाईघाटका मेयर बलदेव चौधरीले बहुला कुकुर नियन्त्रण अभियान संचालन गर्न लागिएको बताए ।‘ विगतमा पनि हामीले नगर क्षेत्रको भुस्याहा कुकुर मार्ने अभियान संचालन गरेका थियौ ।’ उनले भने । अब आईतबारदेखि टोली परिचालन गरेर बहुलाएको र जथाभावी छाडा भएका भुसिया कुकुर मार्ने अभियान शुरु गरिने मेयर चौधरीले बताए ।
गत वर्ष पनि बहुला कुकुरको टाकाईबाट त्रियुगा नगरपालिका वडा न. १० को बाबरी टोलमा एक जना बृद्धाको मृत्यु भएको थियो भने २० भन्दा बढी स्थानीय घाईते भएका थिए । बहुलाको श्याल गाउँ पसेर कुकुरलाई टोकेपछि धेरै कुकुर बहुलाएर बाबरी टोलमा आतंक सृजना गरेको थियो ।
बहुला कुकुरबाट आतंकीत स्थानीय बासिन्दा घरदेखि बाहिर निस्कन छाडेका थिए । उक्त बहुला कुकुर नियन्त्रण गर्न स्थानीय प्रशासनले प्रहरी परिचालन नै गरेको थियो ।
Post a Comment