काठमाण्डौं,माघ १० गते । रातो तारा डट कम,शहिद सप्ताह आजदेखि मनाइदैछ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आजदेखि देशभर शहिद सप्ताह मनाइँदैछ ।
१६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको सरकारले जनाएको छ । शहिद सप्ताहको नेतृत्व काठमाडौँ महानगरपालिकाले गर्दैछ । वि.सं. २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
आज बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको शालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्नुहुने कार्यक्रम छ । शालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
Post a Comment