काठमाण्डौं,माघ २४ गते । रातो तारा डट कम,सरकारले सुख्खाग्रष्त क्षेत्र घोषणा गरेको दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकामा डिप बोरिङ प्रबिधि मार्फत पानी निकालिएपछि स्थानीयले राहत महसुस गरेका
छन् । एक नम्बर प्रदेश सरकारको एक करोड लगानिमा गाउँपालिकाको तीन स्थानमा पानी निकालिएको हो ।
गाउँपालिकाको वार्ड नम्बर एकको मल्लिडे, वार्ड नम्बर चारको उत्तिसे र वार्ड नम्बर पाँचको निगालेमा डिप बोरिङ गरी पानी निकालिएको हो । एक स्थानमा दुई सय ३० देखि दुई सय ५० मिटरसम्मको गहीराईबाट पानी निकालिएको डिप बोरिङ परिक्षणको काम गरेको मेची कन्ट्रशन झापाका नरेन्द्र चम्लागाईंले बताए । जमिनमुनिबाट पानी निकालिएपछि आफू खुसी सँगै अचम्मित बनेको कुम्मायक–४, रानीगाउँका ८१ बर्षिय तीलकबहादुर सम्बाहाम्फेले बताउनुभयो ।
बिगतमा जस्तो पानीको लागि भोक–तिर्खा बिर्सनुपर्ने अवस्था टरेकोमा कुम्मायक–१, यासोककी सोममाया लाओती पनि दंग पर्नुभएको छ । तीन स्थानबाट निकालिएको पानीको वितरण र व्यवस्थापन गर्ने कार्य भने कुम्मायक गाउँपालिकाले गरिरहेको अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।
तीन स्थानबाट वितरण भइरहेको पानीबाट स्थानीय नौ सय घरधुरी लाभान्वित भएको डिप बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमरसिं थापाले बताउनुभयो । पानी निकालिएको तीनै स्थानबाट ४० एमएमको पाइपभरी पानी आउने गरेको छ । यसरी निकालिएको पानीले २० बर्षसम्म पानीको समस्या टर्ने मेची कन्ट्रक्सनका नरेन्द्र चम्लालाईंले बताउनुभयो ।
Post a Comment