काठमाण्डौं,फागुन १८ गते । रातो तारा डट कम,ओखलढुंगाको श्रीचौरमा सामाजिक कार्यमा मादक पदार्थ प्रयोग गर्न नपाईने भएको छ । मोलुङ गाउँपालिका ६ श्रीचौर स्थित टोल सुधार समितीले यस्तो निर्णय गरेको हो ।
मादक पदार्थ सेवनका कारण समाजमा झै–झगडा, हो–हल्ला र विकृति फैलिएकाले सामाजिक कार्यमा मादक पदार्थ निषेध गर्ने निर्णय गरेको टोल सुधार समितिका अध्यक्ष गोल्बु शेर्पाले बताउनुभयो । टोल सुधार समितिले नियम उलंघन गर्नेलाई जरिवाना गर्ने निर्णय समेत गरेको छ ।
सामाजिक काममा मदिराको प्रयोग गरे वा मदिरा सेवन गरेर सहभागी भए पहिलो पटक भए दश हजार, दोस्रो पटक भए बीस हजार र तेस्रो पटक पचास हजार जरिवाना गर्ने निर्णय भएको स्थानीय युवा शिबकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोल सुधार समितिको उक्त निर्णयलाई वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी र विद्यालयहरुले साथ दिने भएका छन् । टोल सुधार समिति श्रीचौरले सामाजिक कार्यमा मादक पदार्थको प्रयोग नगर्न र व्यक्तिगत कार्यमा पनि अरुलाई असर गर्ने गरि मदिराको प्रयोग गर्न आग्रह गरेको छ ।
Post a Comment