काठमाण्डौ,चैत ४ गते । रातो तारा डट कम,नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीभित्रको विवाद कम गर्न र अनुशासन समिति गठनको विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । अनुशासन समिति गठनको विषयले चर्किएको कांग्रेसभित्रको विवाद अझै जारी छ । विवाद हल गर्न बैठक अघि उच्चतहका नेताहरुबीच छलफल भइरहेको छ । अनुशासन समिति गठनमा सहमति नजुटे आजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने चेतावनी पौडेल–सिटौला पक्षले दिदै आएको छ । सहमति जुटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पनि बूढानीलकण्ठस्थित आफ्नै निवासमा दुवै पक्षको बैठक बोलाउनु भएको थियो । कार्यसमिति बैठकअघि सहमति गर्नेगरि नेताहरु छलफल गरिरहनु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अनुशासन समितिलाई केन्द्रीय कार्यसमितिले त्यस्तो कार्यादेश दिने र त्यो लिखित रूपमै हुनुपर्ने अडान पौडेल–सिटौला पक्षको छ । देउवाले अनुशासन समितिमा केन्द्रीय सदस्य भीष्म आङदम्बेलाई संयोजक तोकेर आफ्नो समूहबाट देवेन्द्रराज कँडेल र किशोर राठोरलाई राख्ने तयारी गर्नु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ११ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।
Post a Comment