सुनसरी,चैत २४ गते । रातो तारा डट कम,प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई जोडेर धार्मिक सर्किट बनाएर प्रदेश नं. १ लाई विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउँने बताएका छन् ।
नेपालकै महत्वपूर्ण मानिएको प्राचीन हरिद्वार सुनसरीको चतराधाममा अर्ध महाकुम्भ मेलाको उदघाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेश नं। १ लाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन प्रदेश सरकारसँगै संघीय सरकार समेत लागि गरेको जानकारी दिए ।
वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राईले बताए।
मुख्यमन्त्री राईले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाडी बढाएको बताए । उनले चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको समेत बताए ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने तय भए पनि मौसम गडबडीका कारण उनको आउने कार्यक्रम स्थगित भएपछि मुख्यमन्त्री राईले उदघाटन गरेका हुन् । कुम्भका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजनसमेत गरेको छ ।
नेपालकै महत्वपूर्ण मानिएको यो मेलाका लागि देश तथा विदेशबाट आउने भक्तजनको सुरक्षा, आवास, शौचालय, विद्युत लगायतका सम्पूर्ण सेवा भने उपलब्ध गराएको छ । वैशाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा अर्धकुम्भ मेला लाग्ने छ ।
Post a Comment