मोरङ, भोजपुर, वैशाख ६ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशको मोरङ र भोजपुर जिल्लामा बिहीवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको म्रत्यु भएको छ । मोरङको बुढीमगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका-२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो ।
कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका-१ बस्ने बर्ष ३० को दिपेन बि.क. लाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ । त्यसैगरी भोजपुरको हतुवागढी गाँउपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे सापिङटारबाट ज्यामिरे तर्फ दाउरा लोड गरेर जाँदै गरेको को २ त ८७१४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार वर्ष ३५ की शान्ति मगरको घटनास्थलमा नै मृत्यू भएको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ भने ट्याक्टरका चालक सोही स्थान बस्ने वर्ष ३६ को मेघराज राईलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यलायले जनाएको छ ।
Post a Comment