काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,एक व्यक्ति एक पद लागू गर्ने या नगर्ने शीर्ष नेताबीच मत बाझिएपछि जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्न बसेको नेकपाको बैठक बिना निश्कर्ष टुङ्गिएको छ ।
केन्द्रीय सदस्यको जिम्मेवारी तथा जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताबीच एक व्यक्ति एक पद लागू गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक बिन निष्कर्ष टुंगिएको हो ।
७७ जिल्लाका इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद छ । जिम्मेवारी बाँडफाँटको मापदण्डका विषयमा गम्भीर छलफल भएको र छिट्टै टुंगो लाग्ने बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तता देखाउँदै बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । भोलि बस्ने बैठकले जिल्ला इन्चार्ज, सह–इन्चार्ज र त्यसपछि अरु विभाग तथा सांगठनिक एकताका बाँकी विषयबारे छलफल गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपामा अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल दोहोरो जिम्मेवारीको पक्षमा छन् ।
वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक पद एक व्यक्तिको अडानमा देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र रामबहादुर थापा भने कुनै पक्षमा खुलेका छैनन् ।
Post a Comment