विराटनगर । रातो तारा डट कम, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ । यिनै पाँच दिनलाई तिहार या यमपञ्चक भनिन्छ ।
यमपञ्चकको पहिलो दिन यमदीपदान गरी कागतिहार मनाइन्छ । कागलाई यमराजको सन्देशवाहक दूत मानिन्छ । गृहस्थहरुले यस दिन कागको सम्मान सत्कार गरी पर्खाल तथा कौसीमा हरियो दुुना टपरीमा सयपत्रीको फूल राखी खान दिई यमदूतको रुपमा पूजाआजा गर्छन् ।
नेवारी समुदायमा यस दिनलाई कोपूजा भन्ने चलन छ ।
तिहारको पहिलो दिन काग तिहार, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत्, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। यमपञ्चकको पहिलो दिन शनिवार कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ। वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ।
यो दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ। यसै दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।
तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने धार्मिक विधि छ। बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ। जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ।
भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए। यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन्।
लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ। भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन्। लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ।
अझ कतिले त एक हप्ता अघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन्। यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ।
प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ। तिहारको अन्तिम दिन कात्तिक १२ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइ भाईटीका मनाइन्छ । नेवारी समुदायले भने कात्तिक १३ गते भाइटीका मनाइदैछन्
Post a Comment