काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम,नेपालमा खेतीयोग्य जमिन झण्डै ८० प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार ५७ जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ३२ लाख १४ हजार हेक्टर रहेको छ । यसमध्ये ७९ दशमलव ३ प्रतिशत जमिनमा खेती गरिएको छ । कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल प्रदेश २ मा सबैभन्दा बढी ८९ दशमलव ९ प्रतिशत र प्रदेश ३ मा सबैभन्दा कम ७३ प्रतिशत रहेकोछ ।
खेती गरिएको जमिनको केवल ४५ दशमलव २ प्रतिशतमा मात्र सिँचाई सुविधा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा खेती गरिएको जमिनको केवल २२ दशमलव ९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाई सुविधा पुगेको छ भने प्रदेश २ मा सबैभन्दा बढी ६६ दशमलव ३ प्रतिशत खेती गरिएको जमिनमा सिँचाई सुविधा पुगेको छ । तर सिँचाई सुविधा नपुगेको तेह्रथुमको छथर गाउँपालिकामा किसानले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन् ।
वर्षात्को पानी संकलन गरेर गरिएको तरकारी खेतीबाट मनग्य आम्दानी पनि भएको छ । किसानले लगनशिलता र मिहेनत गरेर सुख्खा माटोमा पैसा फलाएका छन् । तेह्रथुमको छथर गाउँपालिकालाई स्थानीय र प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । हिउँद शुरु भएसँगै डाँडा पाखा उराठ लाग्दा देखिन्छन् । तर किसानका खेतबारीमा हरियाली देख्न पाईन्छ । वर्षात्मा प्लाष्टिक पोखरी बनाएर संकलन गरेको पानीले खेतबारी हराभरा बनाएको ओख्रे बाँसपानीका पदम माया तामाङ बताउनुहुन्छ ।
पिउने पानीको समेत अभाव खेपिरहेको बस्तीका पाखा बारीहरुमा रायोको साग, खुर्सानी, आलु, टमाटर, काउली, धनियाँ लगायतका तरकारी लगाईएको छ । सुख्खाग्रस्त क्षेत्रका किसानलाई छथर गाउँपालिकाले प्लाष्टिक पोखरी उपलव्ध गराएको थियो । प्लाष्टिक पोखरीको पानीबाट गरिएको तरकारी खेतीले वार्षिक ३ लाखसम्म आम्दानी दिने गरेको स्थानीय टेकबहादुर तामाङको भनाइ छ ।
केही वर्ष यता, सुख्खाग्रस्त क्षेत्रमा बसाईसराईको दर बढ्दै गएको छ । तर प्लाष्टिक पोखरीको पानीले खेती र आम्दानी हुन थालेपछि बसाई सराई रोकिने गाउँपालिकाले विश्वास लिएको छ । छथर गाउँपालिकाले यो वर्ष थप किसानलाई प्लाष्टिक पोखरी वितरणको तयारी गरिरहेको छ ।
Post a Comment