काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,यहि मंसीर १४ गते हुने उपनिर्वाचनका लागी सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ५ मा झन्डै दुई हजार मतदाता रहेका छन् । वडा अध्यक्ष पदका लागी हुने उपनिर्वाचनमा मतदाताको संख्या एक हजार आठ सय उन्नचालिस रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीका अनुसार उपनिर्वाचनका लागी अहिले मतदाता शिक्षा कार्यक्रम भईरहेको छ । जसका लागी दुई जना मतदाता शिक्षा कार्यकर्ता फिल्डमा खटाईएका छन् । वडामा एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । मतदान केन्द्र क मा ९ सय ५२ र ख मा ८ सय ८७ जना मतदाताको संख्या रहेको छ ।
निर्वाचन कार्यालयले एक जना मतदान अधिकृत सहित एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी खटाउने तयारी गरेको जनाएको छ । वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त बनेको छ । वडाध्यक्ष पदका लागी तिन राजनितिक दल चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहोरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए ।
गत कात्तिक २७ गते तिन राजनितिक दल र दुई जना स्वतन्त्र गरी ५ जनाले मनोनयन दर्ता गराएका थिए । तर स्वतन्त्रबाट मनोनयन दर्ता गराएका चित्र प्रकाश गिरी र दलबिर बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन् ।
Post a Comment