काठमाण्डौ कार्तिक २० गते । रातो तारा डट कम,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सांसदहरुको ‘कोरम’ नपुगेर स्थगित भएको छ । बैठकमा सहभागि हुन पुग्नुभएका मन्त्री लालबाबु पण्डित आधा घण्टा कुरेर समितिको बैठक कक्षबाट बाहिरिनुभयो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न हिजो बिहान ११ बजे बैठक बोलाइएको थियो ।बैठक बस्न नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव यादव कोइराला सहितका सांसदहरु फर्किएका छन् । चाडपर्वको लामो बिदापछि बोलाइएको समितिको बैठकमा मन्त्री र सांसदहरुले करिब आधा घण्टासम्म कुरेका थिए । राज्य व्यवस्था तथा सुशासन समिति २५ सदस्यीय छ । बैठक बस्न कम्तिमा ५१ प्रतिशत सदस्यहरुको उपस्थित हुनुपर्छ । बैठकमा समिति सभापति शशी श्रेष्ठ, सांसद पम्फा भुसाल, जनार्दन शर्मा, अमरेस कुमार सिंह, डिला संग्रौला मात्र उपस्थित थिए ।
Post a Comment