काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम,चीनले कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बृद्धि गरेको छ । चीनको फरएन एक्सचेन्ज सेन्टरले रकम बढाएपछि नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनले रकम वृद्धि गरेको हो ।
सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७ सय ८० अमेरिकी डलर एकै पटक वृद्धि गरेको छ । अन्य देशका पर्यटकका लागि भने रकम बढाइएको छैन । व्यवसायका लागि सुरुमा नै एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानूनले भने दिएको छैन ।
नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएका थिए ।
Post a Comment