इटहरी, पुस ९ गते । रातो तारा डट कम,नेपाल विज्ञापन संघका केन्द्रीय अध्यक्ष शशि रिजालले विज्ञापन नै मिडिया रहेको औल्याएँका छन् । नेपाल विज्ञापन संघ प्रदेश १ ले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसो भनेका हुन् । ‘न्यूज मात्र मिडिया हैन, विज्ञापन नै मिडिया हो,’ उनले भने, ‘विज्ञापन भएन भने मिडिया चल्नका लागि गाह्रो छ ।’
उनले अहिले सरकारले विदेशी विज्ञापनमा रोक लगाएको सकारात्मक रहेको तर्क गर्दै मिडिया हाउस संस्थागत हुनुपर्ने बताए । भने, ‘मिडिया हाउस संस्थागत हुन जरुरी रहेको छ । विज्ञापन संघले व्यक्तिलाई सम्बोधन गर्दैन, संस्थालाई सम्बोधन गर्छ । त्यसैले तपाईँहरु संस्थागत हुन आवश्यक छ ।’ उनले मिडिया हाउस संस्थागत भएको खण्डमा आँफूहरु सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारीले विज्ञापनले मिडिया हाउस सञ्चालन हुने र व्यवसायलाई फाईदा हुने भएकाले यसलाई सहयोगको रुपमा मात्र नभई व्यवसायको रुपमा बुझ्नका लागि अपिल गरे । अधिकारीले भने, ‘संस्थागत हिसाबमा बसेर काम गर्दा सबैका लागि उपयुक्त हुन्छ । विज्ञापन सहयोग हैन, व्यवसाय हो ।’ कार्यक्रममा प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरीले विज्ञापनका कारण समाचारमा कठीन हुने भएकाले यसको बिषयमा गम्भीर हुन आग्रह गरे उनले भने, ‘एउटा विज्ञापन हाउसले विज्ञापन दिएकै भरमा समाचार रोक्नुपर्ने स्थितिको अन्त्यका लागि विज्ञापन संघले कदम चालोस् ।’
कार्यक्रममा विज्ञापन संघ प्रदेश १ को सह–संयोजक र सचिव पनि तोकिएको थियो । सह–संयोजकमा झलक केसी चयन भए भने सचिवमा धरानका मात्रिका प्रसाद नेपाल चयन भएका थिए ।
Post a Comment