विराटनगर मंसिर १६ गते । रातो तारा डट कम,विराटनगर विमानस्थललाई पाँचवर्ष भित्रमा मध्यमस्तरको विमानस्थलको रुपमा विकास तथा विस्तार गरिने भएको छ ।
विमानस्थल विस्तार गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि आज विराटनगरमा सरोकारवाला पक्षसँग भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँचवर्षे योजना अनुरुप विस्तारको कार्य बढाईने बताए ।
तीनै तहका सरकारको साझेदारी अवधारणामा विस्तारको कार्य अगाडी बढाउन सकिन्छ, मन्त्री भट्टराईले भन्नुभयो–स्थानीय तहले सहजीकरण गर्ने, प्रदेश सरकारले जग्गा अधिग्रहण गर्ने र संघीय सरकारले संरचनामा लगानी गर्ने उत्तम उपाय हुनसक्छ । उहाँले पर्यटन व्यवसायमा लगानी गर्दै आएका निजी क्षेत्रका व्यवसायीलाई पनि विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरे ।
क्षेत्रीय तथा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि संभावना समेत उतिकै आवश्यकता पर्दछ, मन्त्री भट्टराईले भन्नुभयो–चाहना मात्रै राखेर हुन्न, आवश्यकता र औचित्य पुष्टि हुनपर्दछ । उहाँले विमानस्थल विस्तार गर्ने विषयमा दोधारेपन नभएको बताउँदै प्रारम्भिक गुरुयोजनाको मस्यौदालाई अन्तिम रुप दिएर जग्गा अधिग्रहणको काम अगाडी बढाईने बताए ।
पाँचवर्ष भित्रमा दुईहजार ५ सय मिटरमा विमानस्थल विस्तार गरिसक्ने गर्ने तर जग्गा भने तीन हजार मिटरका लागि अधिग्रहण गरिने मन्त्री भट्टराईको दावी छ । उनले प्रत्येक विमानस्थल आफैं सञ्चालन हुुनसक्नुपर्ने बताउँदै निजी हवाई कम्पनिले पनि विचार गर्नुपर्नेमा जोड दिए ।
एउटा विमानस्थलको बेश लिएर अर्को विमानस्थलमा विमान राख्ने कुरालाई सरकारले गम्भीर रुपमा लिईरहेको बताउँदै मन्त्री भट्टराईले स्वीकृत बेश भएकै स्थानमा विमानहरु राख्न अनिवार्य गरिने बताए । साना हवाईजहाजलाई काठमाण्डौंबाट विस्थापित गरेर प्रदेशको राजधानी केन्द्रीत गर्ने योजना राखिएको बताउँदै मन्त्री भट्टराईले सबै प्रदेशका राजधानीलाई प्रादेशिक विमानस्थलको रुपमा विकास गरिने बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थल तीन हजार मिटरै विस्तार गरिनुपर्नेमा जोड दिए । उनले आधार तयार गरेर तत्काल काम अगाडी बढाउने वातावरण संघीय सरकारले बनाउनुपर्ने बताउँदै प्रदेश सरकारको ल्याकतले भ्याएसम्म साझेदारी गर्ने मुख्यमन्त्री राईको भनाई थियो । उनले प्रदेश सरकारले लगानीकर्ता आफैं खोज्ने दावी गर्दै संघीय सरकारको निर्णय कुरेर बसेको एकवर्ष भईसकेको स्मरणगराए।
चालु महिनामै संघीय सरकारकाले विमानस्थल विस्तारको निर्णय गरोस्, मुख्यमन्त्री राईले भने–हामी छ महिना अवधीमै जग्गा अधिग्रहण गर्ने प्रक्रियामा लाग्छौं । प्रदेश १ मा विमानस्थल निर्माण गर्ने विषयमा संघीय सरकार अनुदार बनेजस्तो आफूलाई लागेको बताउँदै मुख्यमन्त्री राईले कुनै नीतिगत र प्राविधिक समस्याको निरुपणपछि गर्दै जानुपर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ को आर्थिक समृद्धिको आधार बन्ने विमानस्थल तीन हजार मिटरमै निर्माण हुनुपर्ने बताउँदै काठमाण्डौंले चित्त दुखाई रहनु नपर्ने बताए । उनले बाह्य पर्यटकहरु विराटनगर भित्र्याएर प्रदेश १ का गन्तव्यमा पु¥याउने सपना प्रदेश सरकारले देखेको बताउँदै त्यसलाई सार्थकता दिन संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले निर्माणको प्रक्रिया बढाउनका लागि आग्रह गरे ।
नेकपामा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, काँग्रेसका नेता मोदराज घिमिरे, समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादव, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, पर्यटन व्यवसायी पुण्य भट्टराईले गुरुयोजनाले प्रदेश १ को भावनालाई समेट्न नसकेकोले त्यसलाई सच्याउनु पर्ने सुझाव दिए ।
Post a Comment