काठमाण्डौ मंसिर १६ गते । रातो तारा डट कम, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलामा राष्ट्रपति बिद्यादेवी भण्डारी पुगेपछि साग औपचारिक रुपमा सुरु भएको हो । प्रस्तावित तालिका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि दशरथ रंगशाला पुग्नुभएको छ ।
लगत्तै आयोजकको समारोह समितिले पुष्प गुच्छा सहित राष्ट्रपतिको स्वागत गरेको छ । त्यसपछि राष्ट्रपतिलाई विशेष मञ्चमा लगेर राखिएको छ । र राष्ट्रिय धुन सहितको बाजा बजाइएको छ । राष्ट्रपतिको आसनसंगै मार्चपासको कार्यक्रम चलिरहेको छ । सागमा सहभागी सातै देशका खेलाडी, रेफ्री र प्रशिक्षक मार्चपासमा सहभागी छन् । मार्चपासको समापनसंगै लेजर लाईटको प्रर्दशनी हुनेछ ।
प्रकाश प्रर्दशनीको समापनसंगै मन्तव्यको कार्यक्रम सुरु हुनेछ । करिब तीन घण्टाको सागको उद्घाटन सत्रमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । सुरुमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्ने कार्यक्रम तय भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले विशेष मन्तव्य राख्नुहुनेछ ।
सागको मुल आयोजक समारोह समितिका संयोजक तथा युवा तथा खेलकुद मन्त्रीले सागको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्तव्य राख्नुहुनेछ । लगत्तै राष्ट्रपतिबाट उद्घाटन सम्बोधन हुनेछ । सम्बोधनको क्रम सकिएसंगै सातै प्रदेशमा लगिएको टर्च लाईटको भिडियो देखाईनेछ । लगत्तै खेलाडीले टर्च लाईन समातेर दशरथ रंगशालाको परिक्रमा गर्नेछन् ।
कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले दिप प्रज्वलन गर्नुहुनेछ । लगत्तै सागको झण्डा सहित मार्चपास र झण्डोत्तलनको कार्यक्रम राखिएको छ । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खानेछन् । अनि पालो साग गितको हुनेछ । जसमा कुन्ती मोक्त्तान, आनन्द कार्की, सत्यराज आचार्य, ईन्दिरा जोशी र मिलन नेवारले स्वर दिनेछन् । त्यसपछि स्वागत नृत्य प्रर्दशन गरिनेछ । नृत्यपछि ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् ।
त्यसपछि विभागीय टिमले आफ्नो प्रस्तुत दिनेछन् । अनि आतिसबाजी सहित सागको औपचारिक उद्घाटन समारोह सकिने जनाइएको छ । यसैबीच, १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि सो जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पोखरेलको भागमा परेको हो ।
Post a Comment