काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । तर उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिइनसक्नु भएकाले बैठक सर्ने सम्भावना पनि रहेको छ । आजै बैठक अघि राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाले तयारी गरेको छ ।
सोहीअनुसार संसद सचिवालयले पनि तयारी गरेको संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । अहिलेसम्म अरु कुनै निर्णय नभएकाले बैठक बस्ने गरि नै तयारी भइरहेको उहाँले सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान सभामुख कसलाई बनाउने भन्नेबारे छलफल हुँदैछ ।
प्रचण्ड चितवनमा रहनु भएकाले आएलगत्त छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिपक्षी काँग्रेसले उपसभामुखले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन कार्यतालिका अगाडि बढाएमा जटिलता आउने सन्देश दिइसककाले जेष्ठ सदस्यबाट प्रक्रिया अघि बढाउने नेकपाको तयारी छ । सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
उपसभामुखले आजै राजीनामा दिएमा संसद सचिवालयले प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट गराउने आन्तरिक तयारी थालेको छ । तुम्बाहाङ्फेले राजीनामा दिएको खण्डमा ठाकुरलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएर प्रतिनिधिसभाको अध्यक्षता गराउने तयारी भइरहेको जनाइएको छ ।
Post a Comment