उर्लाबारी, माघ ७ गते । रातो तारा डट कम, बैदेशिक रोजगारका क्रममा बिभिन्न देश पुगेका युवाहरूको समुह केवीआई फाउण्डेसन नेपालले आफूले कखरा सिकेको सार्वजनिक माविलाई आर्थिक सहयोग गरेको छ ।
तत्कालिन राजघाट – ८ आम्बारीको सार्वजनिक निमाविबाट प्रारम्भिक शिक्षा लिनु भएका कसल लिम्बू,भीम पन्धाक र इन्द्र लिम्बूले विद्यालयमा अक्षयकोष निर्माणका लागि ३ लाख रुपियाँ सहयोग गर्नु भएको हो ।
यस अघि विभिन्न समयमा सहयोग गरी अक्षयकोषमा २ लाख ८० हजार रुपियाँ सहयोग गर्नु भएका उहाँहरूले मङ्गलबार कोषमा २० हजार रुपियाँ थप गरी ३ लाख रुपियाँको कोष तयार गरिदिनु भएको हो । यस्तै सोही समूहले मङ्गलबार नै आगामी शैक्षिक सत्रबाट सुरु हुने दश जोड दुई कक्षा सञ्चालन गर्न ६६ हजार ६६६ रुपियाँ नगद सहयोग गरेको छ ।
अक्षयकोषमा वृद्धि गरिएका र प्लसटु कक्षा सञ्चालनका लागि दिइएको रकम मङ्गलबार नै दाताहरूको तर्फबाट भीम पन्धाकले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङ र प्रअ टंक दुलाललाई प्रदान गर्नुभयो । केही समय सोही विद्यालयमा अध्यापन समेत गराउनु भएका पन्धाकले गुणस्तरीय शिक्षाका लागि आफ्नो गाउँको विद्यालयलाई सहयोग गरेको बताउनु भयो ।
केवीआई फाउण्डेसन नामको गैरसरकारी संस्था दर्ता गरी सोही मार्फत ग्रामीण क्षेत्रको शैक्षिक सुधार अभियानमा लागेको फाउण्डेसन हाल सम्म उर्लाबारी – ८ र ९ का सामूदायिक विद्यालयलाई सहयोग गर्दै आएको छ ।
फाउण्डेसनका सदस्य एवं अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले शैक्षिक सुधारका लागि भएको सहयोगले परिणाम पनि उत्कृष्ट दिनुपर्ने बताउनु भयो । विदेशमा बसेर दुख गरी कमाएको पैसा आफ्नो गाउँका विपन्न र वोर्डिङ स्कुल पढ्ने पहुँच नभएका विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा खर्च गर्ने फाउण्डेसनले यसअघि उर्लाबारी—९ को प्रभात आधारभूत विद्यालयलाई पनि नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको पोमु बताउनु भयो ।
कार्यक्रममा समुहका रुद्र लिम्बू,योवाहाङ तुम्बाहाम्फे लगायत शिक्षक अभिभावकको उपस्थिती रहेको थियो ।
Post a Comment