फायल फोटो,
काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम,सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच विश्वविद्यालयका पदाधिकारीमा भागबण्डा बारेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा बसेको दुवै दलका शीर्ष नेताबीचको बैठकमा विश्वविद्यालयका पदाधिकारीका बारेमा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो ।
पदाधिकारीविहीन ६ विश्वविद्यालयमा नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताबीच छलफल भएको
थियो । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायत नेता पनि सहभागी हुनुभएको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि उपकुलपतिको पद रिक्त छ । पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोगका अध्यक्ष र सदस्य पद रिक्त छन् । यी विश्वविद्यालयको शैक्षिक र प्रशासनिक वातावरण पदाधिकारी नियुक्त हुन नसक्दा अस्तव्यस्त बनेको छ ।
नेकपा नेता नेम्वाङले प्रधानमन्त्रीले नियमित रूपमा संसदमा रहेका दलसँग गर्दै आएको छलफलको पाटो अनुरुप नै दुई दलका शीर्ष नेताबीच भेटघाट भएको बताउनुभयो ।
Post a Comment