शिव भट्टराई,मोरङ सुन्दरहरैचा । रातो तारा डट कम, सन् २०२३ सम्ममा दादुरा रुबेला रोग उन्मूलन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत फाल्गुन १६ गते देखि २४ गते सम्म सुन्दर हरैचा मा दादुरा रूबेला खोप अभियान सञ्चालन हुने भएको छ।
अभियान सम्बन्धी जानकारी दिन बुधबार नगरपालिकामा भएको पालिका स्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले १५ प्रतिशतले खोप लगाएको प्रमाणित हुनुपर्ने भएकाले सबै बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउन अनिवार्य रहेको उल्लेख गरे।
स्वास्थ चौकी मृगौलियाका प्रमुख माधव प्रसाद रेग्मीले २०३४ सालमा विफर उन्मूलन सँगै नेपालमा खोप कार्यक्रम शुरू भएको र पछिल्लो समय अभियानको रूपमा सञ्चालन भएको उनले बताए।चराको सिकार गर्दै ठाउँठाउँमा बसाइँ हिड्ने समुदाय , जादू सर्कस देखाउने समुदाय एकै ठाउँमा नबस्ने हुनाले अभियानमा छुट्ने र उनीहरूले नै रोगको संक्रमण फैलाउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो।
इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लालमणि दाहालले दादुरा रुवेला सरकारको प्राथमिकतामा परेको र स्वास्थ्य क्षेत्रमा सबै भन्दा बढी लागत प्रभावकारी भएको कार्यक्रम रहेको बताए। सन् २०१० देखि पोलियो रोग शून्य अवस्थामा रहेको र उन्मुलनको नजिक रहेको उनको भनाइ थियो। खोप कार्यक्रमको प्रभाव स्वरूप औसत आयुमा वृद्धि भएको उल्लेख गरे।
सुन्दर हरैचामा दादुरा रूबेला रोग नदेखिएको र विश्वमा दादुराबाट हुने मृत्यु दरमा ८४ प्रतिशतले कमी आएपनि हरेक वर्ष करिब ६० लाख मानिस दादुरा रोगबाट संक्रमित हुने गरेको तथ्यांकले देखाएको उनको भनाइ थियो। अभिमुखिकरण कार्यक्रममा सुन्दर हरैचा मा रहेका साबिक ५ वटै गाविसमा रहेका स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेविका, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
Post a Comment