मोरङको सुन्दरहरैंचाका कोरोना पुष्टि भएका व्यक्ति फागुनमा महिनामा कामको सिलसिलामा भारत गएका थिए । उनी भारतको हरिद्वारमा काम गर्दै थिए । त्यही बेला कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी भारत सरकारले लकडाउन गर्यो ।
‘त्यसपछि त कोठामै बसियो,’ आज बिहान उनले फोन सम्पर्कमा भने, ‘लकडाउन खुल्छ भन्दाभन्दै लामो समयसम्म पनि नखुलेपछि बाध्य भएर घर आउनुपरेको हो ।’
उनीसँगै अन्य ३ जना साथीहरु पनि भारतबाट आएका थिए उनीहरुमा भने संक्रमण देखिएन । उनीहरू हरिद्वारबाट बसमा नेपालको सीमासम्म आई नेपालको धनगढीबाट बसमार्फत् जेठ ११ गते विराटचोकसम्म आएका थिए । विराटचोकमा ओर्लिएलगत्तै उनी क्वारेन्टाइनमा गएका थिए । भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनसम्म पुर्याउन सञ्चालनमा ल्याइएको एम्बुलेन्समार्फत् उनी पूर्वाञ्चल विश्वविद्यालयमा रहेको क्वारेन्टाइनमा गएका थिए ।
कोरोना संक्रमण देखिएपछि हिजोदेखि उनलाई आइसोलेसनमा राखिएको छ । ५\६ दिन अगाडि ज्वरो आउने र घाँटी दुख्ने समस्या पनि आफूलाई देखिएको उनले बताए । त्यसभन्दा अगाडी पूर्वाञ्चल विश्वविद्यालयमै गरिएको आरडीटी परीक्षणमा भने उनको नेगेटिभ रिपोर्ट देखिएको थियो । क्वारेन्टाइनमा बसेका सबैको त्यसपछि पीसीआर गर्दा उनलाई पोजेटिभ नतिजा देखिएको हो ।
अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित भए पनि डर नलागेको तर स्वास्थ्यमा सचेत रहेको उनले बताए । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा हिजो बिहीबारदेखि २ सय बेडको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।
Post a Comment