आजको दिन मासको दाल र चामल मिसाएर घ्यू हालेर बनाइएको खिचडी पनि खाने चलन छ । चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरुको भनाइ छ । नरदेवी अस्पतालका डा. जया सत्यालका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ । यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ । उहाँले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो ।
आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
Post a Comment