विराटनगर, २१ पौष। रातो तारा डट कम,प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो ।
सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामका बारे जानकारी दिनुभयो । उहाँले नयाँ भेरिअन्ट फैलन नदिन भीडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । मन्त्री यादवले त्यसका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकार सँगै रहने उल्लेख गर्नुभयो ।
प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले कोभिडसँग सम्बन्धित सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । सही सूचनाले नागरिक आश्वस्त हुने भएकाले चुस्त सूचना प्रणालीमा उहाँले जोड दिनुभयो ।
छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले आ–आफ्ना मन्त्रालयबाट भएका काम र प्रयासका बारे जानकारी दिनुभएको थियो ।
त्यसैगरी सुरक्षा निकायका तर्फबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी., शसस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना इटहरी बाहिनीका सहायक रथी प्रकाश देउजासहित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. विनोदप्रसाद गुप्ताले छलफलमा भाग लिनुभएको थियो ।
Post a Comment