तिमीले
रङ्ग मन पर्छ भनेउ।
रङ्गहरुको बाटोमा
जुन दिन तिमीले उपहारमा
मलाई रङ्हरुको शहर माग्यौ
मैले भएजति रङहरु टिपेर
तिमीलाई इन्द्रेणीको माला दिएको हुँ
मनको आकाशदेखि धर्तीसम्म जोडियोस् भनेर।
मनपर्ने इन्द्रेणीको हार पाएपछि
तिमी खुबै खुल्यौ
रङ्गभन्दा बेस्सरी।
आफू सर्वत्र रङ्गीन भएपछि पनि
तिमीले रङ्गहरुको सवाल उठाइरह्यौ
जसरी कहन्छ कौवाले काग काग काग भनेर
हुँदाहुँदा एकदिन तिमीले
भर्खरै फक्रिएको कपासजस्तो
सेताम्मे फुलेको मेरो कपाल
हिमलेकमा खसेको सिजनको हिउंजस्तो
गालाका दार्हीजुँगा देखायौ
र भन्यौ- रङ्ग खोइ?
तिमीले
यति त बुझ्नुपर्ने हो-
मैले तिमीलाई रङ्गीन बनाउँने
लहडमा आफूलाई
सादा सादा बनाइसकेको छु।
बेलबारी,मोरङ।
Post a Comment