विराटनगर भाद्र २१ गते | रातो तार डट कम, हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।
ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल गर्दा पनि निर्माणले गति लिन नसकेपछि मंगलबार नै पुनः छलफलसमेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा ठेकेदारलाई बोलाएर छलफल गरिएको हो । छलफलपछि मेयर कोइराला प्रभावित स्थानीयको गुनासो सुन्न जामुनगाछी पुगेका थिए । सडक नबन्दा धेरै नै दुःख पाएको स्थानीयले मेयर कोइरालासित गुनासो पोखेका थिए ।
हुलाकी सडकका विषयमा आफू निकै चिन्तित भएको बताउँदै मेयर कोइरालाले भने, “तपाईंहरूलाई लाग्दो हो मेयर आनन्दले बसेको छ, तर त्यसो होइन मेरो ठाउँबाट धेरै नै पहल गरिरहेको छु । यो सडक महानगरले बनाउने होइन । हुलाकी सडक आयोजनाले बनाउने हो । तर, पनि महानगरको मेयर चुप लागेर बस्ने कुरा आउँदैन ।” त्यसअघि मेयर कोइरालाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सम्बन्धित वडाका वडाध्यक्ष र ठेकेदारसित छलफल गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले पनि अब तोकिएको समयभित्र काम नभए प्रहरी लगाएर थुन्ने चेतावनी दिएका थिए ।
Post a Comment