विराटनगर कातिक २४ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारशर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा जिज्ञासा राख्नुभयो । उहाँले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न महानगरलाई सुझावसमेत दिनुभयो । ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्यालले सेवा प्रवाहमा ज्येष्ठ नागरिकमैत्री बनाउन आग्रह गर्नुभयो ।
उहाँले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि महानगरले के गरिरहेको छ भनेर प्रश्न राख्नुभएको थियो । साहित्यकार स्वयम्भुमानसिंह कार्कीले भाषा, साहित्य र संस्कृतिको विकासका लागि महानगरले के कस्ता योजना बनाइरहेको छ भनेर जिज्ञासा राख्नुभयो । एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले सडक निर्माण, महिला, बालबालिका र सामाजिक क्षेत्रका जिज्ञासा राख्नुभएको थियो । राप्रपाका जिल्ला सचिव टंक चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, नेकपा एमाले विराटनगर नगर कमिटीका उपसचिव नवराज नेपाललगायतले सुशासन, आर्थिक पारदर्शिता, विकासमा देखिएको ढिलासुस्तीलगायतका विषयमा प्र्र्रश्न राख्नुभएको थियो ।
सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ मेयर नागेश कोइरालाले दिनु भएको थियो । उहाँले महानगरवासीले गर्व गर्न र सम्झन लायक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मेयर कोइरालाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नगर बस सञ्चालनदेखि डुबान समस्या समाधानसम्मका योजना सुनाउनु भएको थियो । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा तथा महाशाखा प्रमुख, नागरिक समाजका अगुवाका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।
Post a Comment