धनगढी, चैत ११ गते । रातो तारा डट कम,विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ ।
प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सटआउटमा ३–० गोल अन्तरले पराजित गरेको हो ।
धनगढी रंगशालामा शनिबार पुलिसका मनोज राईको आत्मघाती गोल गरेपछि विदेशी टोली जर्जियनले आठौं मिनेटमा अग्रता लिएको थियो ।
पुलिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।
पेनाल्टीमा पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदी सफल भएका थिए । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ संग प्रतिष्पर्धा गर्नेछ ।
आइतबार क्वाटरफाइनल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ ।
Post a Comment