बिराटनगर | रतो तारा डट कम,आज १६ औ ‘गणतन्त्र’ दिवस । ‘गणतन्त्र’ दिवस जनता सार्वभौम भएको महान उत्सव हो । नेपाली जनता विजयी भएको यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनताबाट निर्वाचित प्रतिनिधि मार्फत संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो ।
यो ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेको तथ्य हामी सबैमा विदितै छ । यो अवसरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुमा प्राण उत्सर्ग गर्ने महान शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते, अपाङ्गता तथा वेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचनासँगै प्रदेशहरुको नामकरण गरी तीन तहकै दोस्रो आवधिक निर्वाचन सम्पन्न भइसकेको छ । नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनैवटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको छ । राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेका छन् ।
जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । कुनै पनि प्रणालीको विकासका क्रममा झिनामसिना समस्याहरु देखा पर्नु स्वाभाविक हो । तर त्यसैलाई आधार बनाएर कुनै पनि कोणबाट गणतन्त्र माथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी प्रयासहरु अनुचित हुन् । इतिहासको गतिलाई अब कसैले पनि पछाडि फर्काउन सक्दैन ।
गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ । भौतिक विकास तर्फ भएको उल्लेख्य प्रगती, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल हुन् । जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारहरु निर्माण गरिरहेको छ । तर पहाडी क्षेत्रको बढ्दो बसाँइ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहाना अनुसारको शासकीय सुधार प्रमुख चुनौतिका रुपमा देखा परेकाछन् ।
यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरु एक जुट भएर यी साझा चुनौती विरुद्ध लड्न जरुरी छ । यसका लागि म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दै पुनः शुभकामना व्यक्त गर्दछु ।
Post a Comment