पाँचथर, बैशाख २४ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीलाई कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष तवरबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले रिस, राग, द्वेष, ईर्ष्याको भावनाले कसैलाई पनि सफल बन्न दिंदैन त्यसैले सम्पुर्ण प्रहरी कर्मचारीहरुले त्यस्तो भावना त्यागी एक आपसमा भाईचारा तथा सहयोगी भावनाका साथ अगाडि बढ्ने तथा प्रहरी कार्यालयलाई सदैव आफ्नो घर सम्झी सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारी पुर्वक संगठनको श्रीबृद्धिमा लागि पर्नु पर्ने बताउनु भयो ।
शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको पिरमर्का र समस्यालाई सहजीकरण गर्न हरदम प्रहरी तत्पर रहनु पर्ने, आम नागरिक संग सभ्य र शिष्ट भाषा प्रयोग गर्नुका साथै सेवाग्राहीहरुसँग समान व्यवहार गर्नु प्रहरीको दायित्व रहेको वहाँले बताउनु भयो ।
अपराध नियन्त्रण, फरार प्रतिबादी पक्राउ, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
साथै वहाँले पाँचथर जिल्लाका स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित विभिन्न संघ सस्थाका प्रतिनिधी, व्यापार संघ, नागरिक समाज, पुर्व प्रहरी, पत्रकार लगायतका ब्यक्तित्वहरु संग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।
Post a Comment