Websoft University

संविधान र कानुनले जातीय छुवाछुत हटाए पनि त्यो अझै पूर्ण कार्यान्वयनमा नआएको सरोकारवालाहरुको गुनासो


मन कुमार गदाल - दमक,जेठ २२ गते | संविधान र कानुनले जातीय छुवाछुत हटाए पनि त्यो अझै पूर्ण कार्यान्वयनमा नआएको सरोकारवालाहरुले बताएका छन् ।

आज जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको १७ औं दिवसका अवसरमा झापाको दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा दलित स्वरोजगारका लागि प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो कुरा बताएका हुन् । 

२०६३ जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो । राणाकाल, पंचायतकाल, १२ वर्षे बहुदलकाल हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रको शासनकाल आउँदा सम्ममा वर्तमान संविधानले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई दण्डको ब्यवस्था गरेको छ ।

 तर यतिका परिवर्तन भइसक्दा पनि र समाजका अगुवाहरु नै समाजमा व्यवहारमा जातीय भेदभाव तथा छुवाछुतको संकोचित मानसिकताबाट कतिपय अवस्थामा माथि उठ्न नसक्नु समाज विकासको वाधक भएको कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बताउनु भयो  ।

उहाँले धार्मिक मठ, मन्दिर, सार्वजनिक स्थल, धार्मिक कार्यक्रमहरु, आदिमा कसैले पनि छुवाछुतको भाव राखेर कार्य गरे त्यस्ता मानिसहरु दण्ड र सजायको भागीदार हुने साथै  विभेद गरेमा नगरपालिकाले कारवाही गर्ने पनि चेतावनी दिनु भयो  । कार्यक्रममा विशेष अतिथि रहेकी दमक नगरपालिका उप–प्रमुख रेगिना भट्टराईले जात र लिङ्गको आधारमा कसैलाई पनि विभेद गर्नु अन्यायपूर्ण हुने बताउनु भयो । 

उहाँले जातीय विभेद उन्मूलन र छुवाछुत हटाउन नगरपालिकाको नेतृत्व सँधै साथमा रहेको समेत प्रष्ट पार्नु भयो ।कार्यक्रमको अध्यक्षता गर्नु भएकी दमक नगरपालिका सामाजिक विकास समितिकी संयोजक तथा कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले समाज रुपान्तरणका लागि जातीय विभेद र छुवाछुत उन्मूलनको लागि सोचाइलाई बद्लेर अघि बढ्नुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्यायी कमिटी सदस्य टिकाराम मग्राती ,दलित अभियन्ता उमेश विश्वकर्माले जातीय विभेद र छुवाछुत विरुद्धको अभियान अवका दिनमा सरकार र गैर दलितले सञ्चालन गर्नु पर्ने बताउनु भयो ।कार्यक्रमलाई दलित महिला केन्द्र नेपालले सहयोग गरेको वताइएको छ । 

दलितहरुलाई १० लाखका सामान वितरण 

दमक नगरपालिकाले ६१ जना विपन्न दलितहरुलाई सिलाई मेशीनदेखि सिंचाईका लागि मोटर गरी १० लाख बराबरका विभिन्न सामग्रीहरु अनुदान स्वरुप उपलब्ध गराएको छ । जसमा ४६ थान सिलाई मेशिन, २ थान इन्टोलक मेशिन, १ थान इलेक्ट्रिक सिलाई मेशिन, २ थान आरन, १ थान प्लेन्जर (दलित मिस्त्रीलाई), ७ थान सिंचाईको मोटर, १ थान ढाकाको तान र १ जना दलित छात्रालाई साईकल प्रदान गरिएको छ । ती सामानहरु दमक नगरपालिकाको सभाहलमा नगर प्रमुख राम कुमार थापा र उप–प्रमुख रेगिना भट्टराईले सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गर्नु भएको थियो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.