Websoft University

खेलकुदले मानिस जीवनलाई स्वस्थ र अनुशासित बनाउँछ - मेयर कोइराला


विराटनगर  असार १८ गते |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।

 मेयर कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताउनुभयो । उहाँले शारीरिक, मानसिक विकाससँगै खेलकुदले अनुशासित जीवन बिताउन मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले बहुप्राविधिक शिक्षालयको विकासका लागि महानगर गम्भीर रहेको सुनाउनुभयो । महानगर बहुप्राविधिक शिक्षालय महानगरपालिकाको गौरवको योजना भएको बताउँदै मेयर कोइरालाले शिक्षालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्दै गएको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले शिक्षालयले अध्ययन गरेका विद्यार्थी अब्बल र जहाँसुकै गएर पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिक्षालयको प्रचारप्रसार गरी देशभरका विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालयमा पढाइ राम्रो हुने र उत्तीर्ण गरेका विद्यार्थीले जागिर खान समस्या नहुने वातावरण सिर्जना गर्नुपर्ने उहाँको धारणा थियो । 

प्राचार्य परिवेश पराजुली, संयोजक संगीता पोखरेललगायतले शिक्षालयको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । २०७७ साउन २७ गते स्थापना भएको शिक्षालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । हाल सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ अध्ययन हुन्छ । शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.