Websoft University

सहमतीय सरकार बनाउन लागिपरेको छु - मुख्यमन्त्री कार्की


विराटनगर ÷ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताउनुभएको छ ।

वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उहाँलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की कोशी प्रदेशका विकासका लागि  सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताउनुभयो । 

कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन ग¥यो त्यो गुणलाई आफूले नबिर्सने भन्नुहुँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताउनुभयो । उहाँले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको रहेको बताउनुभयो । उहाँले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरि सञ्चारकर्मीलाई कलम चलाउन  आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्यसहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको  शुभकामना दिनुभएको थियो ।  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.