Websoft University

विराटनगर महानगरपालिकाको १४ औं नगरसभामा मेयर नागेश कोइरालाले गर्नुभएको नगरसभा सदस्यहरूलाइ सम्बोधन भाषण।


बिराटनगर २०८१ असार १०गते  | सर्वप्रथम चौधौं नगरसभामा उपस्थित भएर यस सभालाई भव्य र ऐतिहासिक बनाइदिनु भएकोमा सम्पूर्ण नगरसभा सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामी निर्वाचित भएर आएको पनि दुई वर्ष पूरा भएको छ । अब हामी विराटनगरवासीलाई परिणाममुखी नतिजा दिनुपर्ने अवस्थामा आइपुगेका छौं । हामी सबैको लक्ष्य भनेको हामीले उम्मेदवार हुँदा विराटनगरवासीबीच गरेका प्रतिबद्धता पूरा गर्नु हो । विराटनगरको विकास र समृद्धिप्रति नगरसभा सदस्यज्यूहरुको जागरुकता र सक्रियताको म हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु । जनप्रतिनिधिले बनाएका योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनमा खटिनुहुने सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

हामीसित भएको सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने हामी सबैको सामूहिक चुनौती रहेको छ । त्यसका लागि तपाईं हामी अनवरत रुपमा लागिपरेकै छौं । आफ्नो कार्यकाल पूरा गरेर विदा हुँदै गर्दा प्रमुख र उपप्रमुखले मात्रै होइन हरेक नगरसभा सदस्यज्यूहरुले पनि आफ्नो कार्यकालमा यस्तो कार्य ग¥यौं भनेर गर्वका साथ भन्ने अवस्था सिर्जना गर्न सकौं भन्ने म चाहन्छु ।

विराटनगर ऐतिहासिक सहर हुनुका साथै कोशी प्रदेशको एकमात्रै महानगरपालिका र राजधानी पनि हो । विराटनगरको विकास गर्न हाम्रो आन्तरिक स्रोतले मात्रै नभ्याउने हामी सबैलाई थाहा छ । यसका लागि हामीले संघीय र प्रदेश सरकारमा प्रभावकारी लबिङ गर्नु आवश्यक छ । आर्थिक स्रोतको कमीकै कारण हामीले बितेका दुई वर्षमा जति काम गर्नुपर्ने थियो त्यति गर्न पक्कै सकेनौं । तथापि सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएका छौं । 

बहुवर्षीय योजनाअन्तर्गत विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरती स्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरु धमाधम निर्माण भइरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । करिब २२ करोडको लागतमा जीर्णोद्वार गरिएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । अहिले पनि करिब १ अर्ब १५ करोडभन्दा बढीका साना ठूला परियोजना सञ्चालनमा रहेका छन् । बितेको दुई वर्षमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण सम्पन्न गर्न सफल भएका छौं । विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना सुरु गरेका छौं । विराटनगरको विकासमा व्यावसायिक संघसंस्था, उद्योगी, व्यवसायीसहितका निजी क्षेत्रलाई सहयोगका लागि अपिल पनि गर्दछु । 

ढाटदेखि रानीसम्मको सडकमा अन्तर्राष्ट्रिय मापदण्डकको बत्ती जडान गर्ने योजना अघि सारेको छौं भने मुख्य चोकहरुमा विद्युतीय बत्तीसहितको सौन्दर्यकरण गर्ने तयारीसमेत गरेका छौं । पानीटंकीदेखि पुष्पलाल चोकसम्म रहेको सोलार बत्तीको अवस्था जीर्ण रहेको छ । ठेक्का सम्झौता भई सामान पनि आइसकेकाले सो सोलारको पोलमा विद्युतीय बत्ती जडान गर्ने कार्य निकट भविष्यमा सुरु गरिने जानकारी गराउँदुछ । करिब ६ करोड लागतमा वडा नम्बर ११ देखि १६ नम्बर वडासम्मको नहरमा कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको यस सम्मानित सभालाई जानकारी गराउँदछु ।

हिउँददेखि नै नाला, पैनी र ढल सरसफाईलाई जारी राखेका छौं । सिक्स लेन सडक बनेपछि हरेक वर्षायाममा वडा नम्बर १३ र १५ का अधिकांक्ष क्षेत्र डुबानमा पर्दै आएका छन् । सो क्षेत्रको डुबान नियन्त्रणका लागि हाल काम भइरहेको छ । मनसुनजन्य विपदको सामना गर्न दु्रत प्रतिकार्य टोली बनाएर तयारी तीव्र पारेका छौं । मौसमविदहरुले विगतको तुलनामा यस वर्ष अधिक वर्षा हुने पूर्वानुमान गरेका छन् । बाढी र डुबानबाट आइपर्ने विपद रोकथाम, न्यूनीकरण, उद्धार र राहतका लागि वडा तहदेखि नै व्यापक तयारी गर्नु आवश्यक छ । सम्भावित विपदको सामना गर्न वडास्तरीय स्वयम्सेवक टोली बनाएर पूर्वतयारीलाई व्यापक बनाउन म सम्पूर्ण नगरसभा सदस्यज्यूहरुलाई विशेष आग्रह गर्दछु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

महानगरपालिकावासीलाई स्रोत र साधनले भ्याएसम्म सबै किसिमको सुविधा दिनु हाम्रो कर्तव्य पनि हो । नगर प्रहरीले महानगरवासीको घरभित्र छिरेको सर्प समाएर व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । उनीहरुले महानगर क्षेत्रभित्र मात्रै नभएर छिमेकी पालिकामा समेत गएर सर्प समाउने कार्य गरिरहेछन् । आगलागी नियन्त्रणका लागि महानगरले सन्सारीमाईस्थान परिसरमा डिप बोरिङ जडान गरेको छ । जसले गर्दा बजार क्षेत्रमा आगलागी भएको खण्डमा तुरुन्तै दमकलमा पानी भर्न र आगलागी नियन्त्रणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु । यस्तै सेन्ट्रल मल, विभिन्न स्थानमा रहेका खानेपानी संस्थान र उपभोक्ता समितिले सञ्चालन गरेका खानेपानीका टंकीबाट पनि दमकलमा पानी उपलब्ध गराउने विषयमा सहकार्य भइरहेको जानकारी गराउन चाहन्छु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

तपाईं हामी आइसकेपछि दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेका छौं । रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको सम्मानित सभालाई जानकारी गराउँदछु । यसबाहेक दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ । यस्तै रानी अस्पतालमा वर्षौंदेखि थन्किएको एक्स–रे मेसिन र स्वास्थ्य बिमा फार्मेसी सेवा पनि सञ्चालन गर्ने तयारी गरेका छौं । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको छ । 

भौतिक विकाससँगै नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न योजनाबद्ध रुपमा कार्य गरिरहेका छौं । महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । क्लिनिकमा जाँच गरेपछि मोतियाबिन्दु पहिचान भएकाहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका छौं । 

यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन गरेका छौं । यस्तै महानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको छ । निःशुल्क एम्बुलेन्स सेवा, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएका छौं । महानगरपालिकाको प्रशासनिक भवनमा हेल्थ डेस्क, बसपार्कमा स्तनपान कक्ष पनि सञ्चालनमा ल्याएका छौं । 

महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल बेड संख्याको १० प्रतिशत बेड अनिवार्य छुट्याउन सरोकारवाला निकायलाई बोलाएर छलफलसमेत गरिसकेका छौं । महिला स्वयम्सेविकाका लागि केही आर्थिक सुविधासहितको सम्मानपूर्वक विदाई तथा मासिक रुपमा उपलिब्ध गराउँदै आएको रु. एक हजार भत्तामा रु. ५ सय थप गरी १५ सय बनाउने नीति अघि सारेका छौं ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

शैक्षिक क्षेत्रको सुधारका लागि हामीले आएदेखि नै प्रयास जारी राखेका छौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएका छौं । विद्यालय भवन, शौचालय, खानेपानी, पंखा जडानसहितका अन्य आवश्यक भौतिक संरचना निर्माण गरी सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउने कार्य गरेका छौं । शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवार बनाउन ४२ बुँदे कार्यसम्पादन करार सम्झौता गरिएको छ ।

 यसै सम्झौताका आधारमा अबदेखि प्रअहरुको कार्यक्षमता मूल्यांकन गरिनेछ । १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम  स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । बुक फ्रि डेका रुपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएका छौं । प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । संघीय सरकारबाट सशर्त अनुदानको रुपमा प्रति विद्यार्थी प्रतिदिन रु. १५ का दरले उपलब्ध गराउँदै आएको खाजा खर्चमा महानगरका तर्फबाट रु. ५ थप अनुदान उपलब्ध गराउनेछौं । 

स्वच्छ खानेपानी सुविधा नभएका थप २० विद्यालयहरुमा स्वच्छ खानेपानी सुविधाका लागि फिल्टर प्लान्ट जडान, फर्निचर अभाव भएका विद्यालयहरुलाई प्राथमिकताका आधारमा ३ सय जोर फर्निचर उपलब्ध गराउने, विद्यालयका कम्पाउण्ड वाल तथा थप कक्षाकोठाका लागि भौतिक पूर्वाधारमा थप लगानी गर्ने, बहुप्राविधिक शिक्षालयमा महानगरभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने योजना अघि सारेको जानकारी गराउन चाहन्छु ।

 आदरणीय नगरसभा सदस्यज्यूहरू ।

सहकारीको समस्या समाधान लागि नगर स्तरीय समिति गठन गरिएको  छ । अव्यवस्थित सहकारीहरुलाई नियमन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौं । महानगर क्षेत्रभित्रका व्यावसायिक किसानलाई बिउविजन, मल, किटनाशक औषधि वितरणलाई निरन्तरता दिएका छौं । विगत वर्षझैं सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिई यस वर्ष २ सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेका छौं । आर्थिक सुशासनलाई प्राथमिकतामा राखेकै कारण मोरङका स्थानीय तहहरुमध्ये विराटनगर सबैभन्दा कम बेरुजु भएको पालिका हुनु तपाईं हामी सबैका लागि गर्व र खुसीको कुरा हो ।

विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जापान सरकारको आर्थिक सहयोगमा जाइकामार्फत ठेक्का लागिसकेको छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरुको सहयोग जुटाउनका लागि पहल भइरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । विराटनगरको विकासका लागि अन्य दातृ निकायहरुसित पनि निरन्तर संवाद र छलफल भइरहेको छ ।

आदरणीय नगरसभा सदस्यज्यूहरू ।

विराटनगर प्रदेशको राजधानीसँगै शिक्षा र स्वास्थ्यको समेत हबका रुपमा विकास भइरहेको छ । यहाँ जनसंख्याको चापसँगै सवारी चाप पनि बढेको छ । ट्राफिक व्यवस्थापनका लागि बजारका विभिन्न मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । अब केही महिनाभित्र ट्राफिक लाइट जडान गरिसक्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु । हाम्रो निरन्तरको प्रयासका कारण बैजनाथपुरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न सफल भएका छौं । रिङरोडको बाँकी कामका लागि ठेक्का लागिसकेको छ । हामी निर्वाचित भएर आएदेखि आजसम्म निर्वाचन पूर्व गरेका प्रतिबद्धताहरुको स्मरण गर्दै विभिन्न नीति तथा योजनाहरु ल्याएका छौं । केही प्रतिबद्धता पूरासमेत गरेका छौं । हाम्रो यो कार्यकालको अन्त्यसम्ममा निर्वाचन पूर्व जनता समक्ष गरेका वाचा तथा प्रतिबद्धता पूरा गरेरै छाड्ने अठोटसमेत व्यक्त गर्दछु ।

आदरणीय नगरसभा सदस्यज्यूहरू ।

अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम र बजेट निर्माणमा सल्लाह, सुझाव दिनुहुने विभिन्न वर्ग, क्षेत्रका महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नीति, कार्यक्रम तथा बजेट तयारीका साथै यो सभा सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्णकर्मचारी वर्गमा पनिहार्दिक धन्यवाद दिन चाहन्छु । साथै, विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा यहाँहरुको जुन साथ र सहयोग रहँदै आएको छ, आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहनेछ भन्ने अपेक्षा गर्दछु । 

​​​​​​​ 

  ​

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.