Websoft University

दूधको रकम उपलब्ध गराउन मुख्यमन्त्री कार्कीको पहल


विराटनगर असार २८ गते | विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८ जिल्लाका किसानहरूको दूधको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूलाई रकम उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ । 

प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो मुख्यमन्त्री कार्कीसँग गरेपछि उहाँले रकम उपलब्ध गराउने विषयमा पहल थाल्नुभएको हो । 

शुक्रवार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीहरूलाई कार्यालयमा बोलाएर रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके गर्न सक्छ भन्ने विषयमा छलफल गर्नुभयो । 

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले आयोजनाको कार्य प्रगति, संस्थाको अवस्था र बजारका विषयमा छलफल गर्नुभएको थियो । 

उहाँले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताउनुभयो । 

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा छलफल भएको थियो । 

विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताउनुभयो । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको चौधरीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.