Websoft University

पूर्वस्वीकृत लिएर मात्रै रथयात्रामा सर्बत–पानी वितरण गर्न महानगरको आग्रह


विराटनगर |  विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ ।

जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा फ्याल्दा बजार फोहोर देखिने गरेको थियो । गत वर्षदेखि महानगरले रथयात्राका क्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रुपमा गर्न सुरु गरेको छ । यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिँदैछ । महानगरले सार्वजनिक सूचना नै जारी गरेर जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

रथयात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताउनुभयो । महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ । पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाई गरेको थियो ।

यस पटकको रथयात्रामा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सबै पक्षको सहयोगले मात्र विराटनगरलाई सफा र सुन्दर राख्न सकिने मेयर नागेश कोइरालाले बताउनुभयो । ‘रथयात्रामा पानी, सर्बत, प्रसादलगायत वितरण गर्नेहरुले फोहोरलाई व्यवस्थित गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘गत वर्षझैं यस वर्ष पनि रथको पछि–पछि महानगरको टोलीले फोहोर संकलन गरेर तत्कालै व्यवस्थापन गर्नेछ ।’ महानगरले सूचना जारी गरेपछि पूर्वस्वीकृत लिन विभिन्न संघसंस्था र व्यक्तिहरू आउन थालेको सरसफाई व्यवस्थापन शाखाका सुपरभाइजर किरण न्यौपानेले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.