Websoft University
September 2024


विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी १ नम्बर प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा चन्द्रबहादुर माङ्मु चयन भएका छन् ।
 

सुनसरीको धरानमा गत भदौ २७ गते सम्मन्न सम्मेलनबाट खुल्ला उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिरकाजी कुलुङ, बिमल कार्की, उपाध्यक्ष छात्रामा प्रतिमा शाह, समावेशी उपाध्यक्षमा देव बाहिङ, प्रमुख सचिवमा नयन राई, खुल्ला सचिवमा प्रदिप घिमिरे, आदेश थापा, हेमराज राई, सचिव छात्रामा लक्ष्मी मण्डल चयन भएका छन् । 
यस्तैसमावेशी सचिवमा ऋषि राई चयन हुँदा कोषाध्यक्षमा भने चयन हुन बाँकी छ । सदस्यहरुमा रोशन न्यौपाने, विजय मगर, बेन्जामिन थापा, आकृती गुरुङ, सुस्मिता लिम्बू, राहुल कटुवाल, मनोज कार्की, मातृका ल्वागुन, सन्जु राई, सागर किँती, चन्द्रप्रसाद श्रेष्ठ, संचिता शर्मा, बिक्रम लिम्बू, अविर सिं यक्सो, सम्झना भट्टराई, सुनिता राई, उमा राई, नविन पौडेल र एरिका थापा चयन भएका छन् । 


विराटनगर  । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको कार्यक्रममा महानगरभित्रका स्वास्थ्य संस्थाहरूको प्रगति, आन्तरिक गतिविधि र विभिन्न स्वास्थ्य सेवाहरूको विस्तृत समीक्षा गरिएको थियो ।

पहिलो दिन महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रगतिमा केन्द्रित रहेर छलफल भएको थियो भने दोस्रो दिन कोशी अस्पतालसहित अन्य सरकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक समिति संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा संयोजक डा. दिलिपकुमार यादव, तथ्यांक अधिकृत दीपक भट्टराई, प्रदेश स्वास्थ्य मन्त्रालयका विभागीय प्रमुख, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, खोप अधिकृत खेहरु यादवसहित विभिन्न स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा भएका कार्यप्रगति र आगामी रणनीतिका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमको समापनमा विगत वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल उपलब्धिहरूको मूल्यांकन गर्दै, आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि रणनीति तय गरिएको स्वास्थ्य महाशाखाका प्रमुख डा. यादवले जानकारी दिनुभयो । मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा महानगरले कार्य गरिरहेको बताउँदै आउनुभएको छ ।

 


विराटनगर | विराटनगरस्थित ग्रेडेट सेकेण्डरी स्कुलले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कक्षाका प्रशान्त कामत प्रथम भएका छन् ।

६० औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्त प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित निर्णायक रहेको प्रतियोगितामा कक्षा १० का अमिस गिरी द्वितीय, कक्षा ८ की तृष्णा मैनाली तृतीय हुँदा कक्षा ८ कै प्रश्रय विष्ट र कक्षा ९ की सरस्वती हेम्रनले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदित, विद्यालयका सिनियर शिक्षक विपीन यादव र अतिरिक्त क्रियाकलाप संयोजक प्रभात बरालले पुरस्कार प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवोदितले विद्यार्थीले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले अहिले सैद्धान्तिक र व्यवहारिक शिक्षा जरुरी रहेको औंल्याए । साहित्य सिर्जना गर्ने व्यक्तिले अरुका लेख र रचना पनि पढ्नु आवश्यक रहेको बताए ।

विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यालयले पठनपाठनसँगै कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदलगायतका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाउने उद्देश्यले विभिन्न प्रतियोगिता गर्ने गरेको सुवालले उल्लेख गरे ।



बिराटनगर | २०८१ भाद्र २८ गते, शुक्रबार मोरङ उद्योग व्यापार संघमा पाल्नु भएका विहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारतका टोलीलाई संघका अध्यक्ष श्री अनुपम राठीज्यू, पूर्व अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, युवा तथा महिला उद्यम समितिका संयोजकज्यू तथा सदस्यज्यूहरुले स्वागत गर्नु भई भेटघाट तथा छलफल गर्नु भएको थियो ।


संघका महासचिव श्री संजय कुमार श्रेष्ठज्यूद्वारा संचालित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा विहार इण्डष्ट्रिज एशोसिएशन पटनाका को–चेयरमेन श्री रुपेश कुमार सिंहज्यू, कोषाध्यक्ष श्री मनिष कुमारज्यू लगायतका प्रतिनिधिज्यूहरुको स्वागत गरिएको थियो ।


काठमाडौं । 
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भई केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको निर्वाचनमा विविध कारणले ढिलाई हुन गएको विदितै छ । पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु । साथै, महासंघको तर्फबाट मिति २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ । मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिबारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु । 

महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्यहरू, सल्लाहकारज्यूहरू, पूर्वअध्यक्षज्यूहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूबाट सहयोग पुर्‍याउनु हुन आहृवान गर्दछु ।


विराटनगर | ६० औं बालदिवसका अवसरमा विराटनगर महानगरपालिकासँगको सहकार्यमा नगर बालक्लब सञ्जालले ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना गरेको छ ।

महानगरको हलमा आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न समस्या राखेका थिए । सत्यनारायण माविकी छात्रा प्रिती यादवले विद्यालयमा बस नभएको, शिक्षक नियमित नआउने, शिक्षकहरुबीच एकता नभएको विषय उठाइन् भने पोखरिया माविकी छात्रा कृतिका नेपालले सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा खर्च एकदमै कम भएको, विद्यालय छेउछाउ भोला, गुट्का खुलेआम बिक्री भइरहेको, बाल क्लब सञ्जालका कोषाध्यक्ष रितेश विश्वकर्माले स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेको, सत्यनारायणकै दिप्ती पोखरेलले निजी विद्यालय व्यापारीकरण भइरहेको, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेजस्ता विषय उठाएकी थिइन् ।

बालक्लब सञ्जालकी दीक्षा आचार्यले विद्यालय छेउछाउ बिक्री भइरहेको चुरोट, गुट्का, भोलालगायतमा कडाइ गर्नुपर्ने, अनिसा भट्टराईले सामुदायिक कुकुरले दुःख दिएको, छाडा पशुलाई नियन्त्रणमा लिनुपर्ने, आदर्श माविका सुगम आचार्यले शिक्षा निःशुल्क भनिए पनि चर्को शुल्क उठाइरहेकाले नियन्त्रण गरिनुपर्ने धारणा राखेका थिए । सत्यनारायणकै शिवानी राउतले ट्राफिक नियम लागू गराउनुपर्नेमा जोड दिए ।

नगर बालक्लब सञ्जालका अध्यक्ष अमित मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतले बालबालिकाले उठाएका विषय सम्बोधन गर्नुभएको थियो । वडाध्यक्षहरु तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा मेयर कोइरालाले बालबालिकाले उठाएका विषय सम्बोधन गर्न महानगरपालिका तयार रहेको बताउनुभयो । 

उहाँले बालबालिकाले अत्यन्तै सान्दन्र्भिक विषय उठाएको भन्दै प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने प्रस्ट पार्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षाको गुणस्तर वृद्धिमा महानगर गम्भीर रहेको सुनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले दिवा खाजामा नेपाल सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरका तर्फबाट ५ रुपैयाँ थप गरिदिएको बताउनुभयो । ५ रुपैयाँ थप्दा महानगरलाई १ करोड २५ लाख भार थपिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विद्यार्थीले उठाएका विषय सम्भव भएसम्म सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।


विराटनगर | प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरका आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, डा. रोशन खड्का, डा. राजन राई र स्वास्थ्यकर्मी गजेन्द्र यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 उहाँहरुले पानीमा डुब्दा, सर्पले टोक्दा, आगोले पोल्दा, दुर्घटनामा परी घाइते र हृदयघात हुँदालगायतका अवस्थामा तत्कालै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख वक्ता डा. श्रेष्ठले तत्कालै चिकित्सक उपलब्ध नहुने भएकाले अस्पताल पुग्नुअघि समयमै सही किसिमले प्राथमिक उपचार भयो भने बिरामीको ज्यान जोगिने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यार्थीलाई प्राथमिक उपचारका विषयमा जानकारी दिँदा प्रभावकारी हुने बताउनुभयो । उहाँले रोट्रयाक्ट क्लबले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आयोजक संस्थाका अध्यक्ष कुशल साह, कार्यक्रम संयोजक आश्रेय कोइरालालगायतले प्राथमिक उपचारका अभावमा धेरैले ज्यान गुमाउनुपरेको बताउनुभयो । सबै ठाउँमा तत्कालै डाक्टर उपलब्ध नहुने भएकाले प्राथमिक उपचारले धेरैको ज्यान बचाउन सकिने उहाँहरुको भनाइ थियो ।

कार्यशालामा तीनवटा सामुदायिक विद्यालयका साढे ३ सय विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


विराटनगर |  महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ ।

नेपाली कांग्रेस मोरङ खेलकुद तथा युवा विभागको आयोजनामा सुरु भएको प्रतियोगिताको मोरङ कांग्रेसको उपसभापतिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालेउद्घाटनगर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट मुलुकको नाम र पहिचान अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सकिने विचार राख्नुभयो । 


उहाँले आणविक र आर्थिक रुपमा जस्तोसुकै मुलुकलाई खेलकुदका माध्यमबाट परास्त गर्न सकिने दाबी गर्नुभयो । ‘आर्थिक र आणविक हतियारमा कमजोर मुलुकले पनि खेलकुदबाट शक्तिशाली मुलुकलाई परास्त गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘हिजोअस्ति पेरिस पाराओलम्पिकमा नेपाली खेलाडी प्रलेशा गोवद्र्धनले जितेर नेपालको इज्जत राख्नुभएको छ । मेहनत र लगनशीलता भए अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुन सकिन्छ । देशको नाम राख्न सकिन्छ र आर्थिक रुपमा पनि मजबुत हुन सकिन्छ ।’

उहाँले विराटनगर महानगरपालिकाले पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मेयर कोइरालाले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मोरङकी कोषाध्यक्ष रञ्जु अधिकारी, नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्ष वसन्त अर्याल, नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानिया, मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागका संयोजक प्रकाश दाहाल, नेपाल सुटिङ संघका प्रदेश अध्यक्ष नविन रेग्मीलगायतले विद्यालयस्तरदेखि नै खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिक तथा संस्थागत १८  विद्यालयका १४० जना खेलाडीले सहभागिता जनाएका छन् । ६ वटा इभेन्टमा जारी प्रतियोगिताका विजेतालाई शुक्रबार एक समारोहका बीच पुरस्कार र प्रमाणपत्र वितरण गरिने विभागका संयोजक दाहालले जानकारी दिनुभयो ।


बिराटनगर | आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराटनगरमा लाग्दै आएका विभिन्न व्यापार मेला भन्दा फरक कृषि एक्स्पो आधुनिक खेती प्रणालीका लागि प्रयोग हुने उपकरण औजारदेखि उन्नत प्रवृधिबाट उत्पादन भएका तरकारी, फलफूल तथा बीउबीजनको आकर्षणले भरिएको छ ।

कृषि थोक बजारको सुन्दर प्राङगणमा आकर्षक तवरले बनाइएको स्टलमा पहाडका खाद्य तथा नगदे बालीका स्टल रहेका छन् । तराईमा संस्थागत तवरले भईरहेको खेती प्रणालीदेखि पशुपालन व्यवसाय समेत झल्कने वस्तुहरु राखिएको छ । पहाड र हिमालमा उत्पादन हुने चीज, घ्यू, राडीपाखी, अल्लो कपडा, अलैंची र एभोकार्डो, काँक्राफर्सी, मह–अचारदेखि हुम्ला–जुम्लाको स्याउ र इलामको किबी जुस समेत मेलामा राखिएको छ । यसैगरी दशैं नजिकीएसँगै घरमा आवश्यक पर्ने दाल समेत मेलामा रहेका छन् ।


भोजपुरको खुकुरी र शहरका घरमा तरकारी खेतीका लागि आवश्यक पर्ने नयाँ प्रविधि समेत रहेको छ । कोशी प्रदेशको प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मेला आयोजना गरेको हो ।


उत्पादन वृद्धि , बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जना हुने अपेक्षा एक्स्पोबाट पुरा हुने विश्वास राखिएको छ । कोशी प्रदेश , कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयल र नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयले प्रवद्र्धन गरेको यस एक्स्पोमा नवीनतम् औजार, यन्त्र तथा प्रविधि,कृषि उपज वस्तु, भेटनरी, अलैंची, डेरी लगायतको प्रदर्शनी रहेको छ भने कृषि विज्ञसंग छलफल तथा सेमिनार, नयां नयां अनुुुसन्धान र परियोजनाहरुको प्रस्तुती गर्ने कार्यक्रम छ ।


नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट र्नियात हुने अलैची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पि र जडिबुटीहरुको मुख्य उत्पादन क्षेत्र कोशी मानिन्छ । नेपालबाट बिदेश निर्यात हुने अलैची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशत भन्दा ठूलो हिस्सामा प्रदेशको योगदान रहेको छ । त्यसरीनै देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि कोशी नै हो ।

प्रदेशले आफुलाई पुर्याएर बढि भएको तिन लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिन्छ । कोशीबाट बेमौसमी तरकारी भारततर्फ र केरा लगायतका फलफुल काठमाण्डौ तथा अन्य सहरी क्षेत्रमा निर्यात हुने गरेको छ । मासु, दुध, चीज, छुर्पि जस्ता उत्पादनमा अगाडी छ ।

 बंगुर पालनमा यो क्षेत्रको योगदान ३७ प्रतिशत रहेको छ । माछा, मासुको माग बढे संगै कुखुरा तथा माछा पालनमा आकर्षण बढ्दै गएको छ । देशमा रहेका कृषि उत्पादन प्रशोधन गर्ने धेरै उधोगहरु यो प्रदेशमा रहेका छन । जसमध्ये धान चामल, जुट, दुध प्रशोधन, चिया, पशुदाना, मैदा तथा फलफुल तरकारी प्रशोधन गर्ने उधोगहरु मुख्य रहेका छन ।


विराटनगर |  विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ ।

विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । 

मेयर कोइराला, उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ८ का राम पोखरेल, ११ का तीर्थेन्द्र नेउपानेलगायतको उपस्थितिमा भएको कार्यक्रममा फाउण्डेसनले अपाङ्गताको क्षेत्रमा गरेको कार्यप्रगतिका विषयमा स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत मीना अधिकारीले प्रकाश पार्नुभएको थियो । महानगर क्षेत्रभित्र २ हजार ७३८ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ । 

फाउण्डेसनले आर्थिक वर्ष २०७७÷७८ देखि विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको थियो । फाउण्डेसनको कार्यअवधि सकिएर विराटनगरबाट विदाइसमेत भएको छ । महानगरले फाउण्डेसनका अन्य कर्मचारीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले करुणा फाउण्डेसनले विराटनगरमा अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले फाउण्डेसनलाई जति नै धन्यवाद दिए पनि कमी हुने बताउनुभयो । उपमेयर शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाले थुप्रै संघसंस्थासँगको सहकार्यमा कार्य गरिरहेको बताउनुभयो । 

उहाँले अपाङ्गताका क्षेत्रमा करुणा फाउण्डेसनले विराटनगरमा कहिल्यै बिर्सनै नसक्ने गरी काम गरेको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगरमा करुणा फाउण्डेसनले देखिने र सधैं स्मरण गर्ने गरी काम गरेको चर्चा गर्नुभयो । महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाएको जानकारी दिनुभयो । 

फाउण्डेसनका निर्देशक दीपक सापकोटाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समय अवधि सकिएकाले विराटनगरबाट विदा हुँदा धेरै नै दुःख लागेको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा अन्य कार्यक्रममार्फत विराटनगर महानगरसित जोडिने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले जग्गा उपलब्ध गराए अर्टिजम भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने स्पष्ट पार्नुभयो ।


विराटनगर  | विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

 लामो समयदेखि सो सडक निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । स्थानीयले पटक–पटक महानगरपालिका र जिल्ला प्रशासनको सहयोग मागेका थिए । आवतजावतमा समस्या भएको भन्दै स्थानीयले बाँससमेत तेस्र्याएर विरोध जनाउँदै आएका थिए ।

महानगरको सभाहलमा भएको छलफलमा निर्माण व्यवसायी उप्रेतीले भदौ २६ गते बुधबारदेखि नै काम सुचारु गर्ने बताए । महानगरका मेयर कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रजिअ भट्टराई, हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, निर्माण व्यवसायी वासु उप्रेती र स्थानीयवासीको उपस्थितिमा बुधबारदेखि नै निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । त्यस्तै दसैंअगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने र तोकिएको मिति अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै धुदुवा पैनीको प्राकृतिक निकासका लागि कल्भर्ट बनाउने पनि निर्णय भएको छ । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर सो सडक आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । २०७८ माघ २ गते ठेक्का सम्झौता भए पनि तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि दुईपटक म्याद थपिसकेको छ । सो सडक निर्माण सम्पन्न गर्न भ्याटसहित १७ करोडमा ठेक्का लागेको थियो ।


विराटनगर | नेपाली कांग्रेसका नेता महेश आचार्यले वीपी कोइरालाको आदर्श र सिद्धान्त छाडेकै कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस मोरङले वीपी कोइरालाको १११ औं जन्मजन्यतीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता आचार्यले अहिले कांग्रेस इतिहासकै सबैभन्दा कठिन मोडबाट अगाडि बढिरहेको बताउनुभयो । विभिन्न गुट, उपगुटले कांग्रेसलाई कमजोर बनाउँदै लगेको बताउँदै नेता आचार्यले कांग्रेसमा रुपान्तरण जरुरी रहेको विचार व्यक्त गर्नुभयो । 

निर्वाचनमा कसैैसित पनि गठबन्धन गर्नुहुँदैन भनेर आफूले बारम्बार भनेको स्मरण गर्नुभयो । ‘गठबन्धन गर्दा अहिले कांग्रेसको अवस्था कस्तो छ भनेर भनिरहनु पर्दैन,’ उनले भने, ‘सारा कार्यकर्ताको भावनाविपरीत गरिएको गठबन्धनका कारण कांग्रेसी नेता कार्यकर्तामा निराशा छाएको     छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस एकढिक्का भएमा कसैले पनि निर्वाचनमा पराजित गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले उरुसित लड्नपर्ने कांग्रेस आफैंसित लडिरहेको दुखेसो पोख्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले अघि सारेका योजनालाई स्थापित गर्न पार्टीले सहयोग नगरेको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका वरिष्ठ नेता गोपालमानसिंह राजभण्डारी, वसन्त भट्टराई, मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, विराटनगर सभापति दीपक चापागाईं, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, महिला संघ मोरङ अध्यक्ष शान्ता पौडेललगायतले वीपीको आदर्श र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढे मात्रै देश समृद्ध हुने विचार राख्नुभएको थियो ।


विराटनगर, २४ भदौ | माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । 

यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने । 

यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका   छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई, दर्शन साह पराजित भएका छन् । महिला सहसचिवमा भने रविना चौधरी सर्वसम्मत चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा किर्तिका खनाललाई पराजित गर्दै शितल दर्नाल निर्वाचित भएकी छिन् । 

सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अवेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राती नै सार्वजनिक भएको हो । मोरङका १७ वटै पालिकाबाट सहभागी मतदाता १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । ५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनौट भने भएको छैन ।


विराटनगर | विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गराइएकै हो । त्यसमाथि पनि आउँदो असोजमा लगाउने भनिएको खाना मेलाले थप मार पार्ने हुँदा त्यो निर्णयलाई अनेत्र सार्नका लागि जोडदार माग गर्दछौं । त्यस्ता कार्यक्रमले हाम्रो व्यवसाय ठप्प हुने, आवतजावतमा असर पर्ने, विभिन्न मासुजन्य परिकारको गन्ध फैलिने हुँदा त्यस्तो मेला कुनै स्थानमा गर्नसमेत सुझाव दिइन्छ ।’

सो स्थानमा मञ्जिना मुभिज क्रिएसनका नामबाट आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव गर्ने भनेर केही दिनअघि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । गत वर्ष पनि मेला नलगाउन आग्रह गरेको स्मरण गर्दै स्थानीय व्यापारी विनोद पोद्दारले भने, ‘अर्कोपटकदेखि हिमालय रोडमा मेला नलगाउने बचन दिइएको थियो आयोजकले । तर फेरि यस वर्ष पनि मेला लगाउने भनेर सञ्चारमाध्यमबाट थाहा भयो ।’ उनले सो मेला अन्य स्थानमा आयोजना गर्न आग्रहसमेत गरे ।

स्थानीय व्यापारी गंगाधर मैनालीले कुनै पनि हालतमा सो स्थानमा मेला गर्न नहुनेमा जोड दिए । ज्ञापनपत्र बुझाउन महानगर पुगेका मैनालीले आक्रोशित हुँदै भने, ‘रोड भनेको हिंड्नका लागि हो । पूरै सडक ढाकेर व्यापार गर्नका लागि होइन ।’

सो रोडमा नयाँ संरचना बनेपछि ६० प्रतिशतले व्यापारसमेत गिरावट आएको उनको भनाइ थियो । हिमालय रोडमा पुस्तक, कम्प्युटर, मोबाइल, होटल, चियानास्ता, किराना, कपडालगायतका करिब ७५ वटा पसल सञ्चालनमा रहेका छन् । मैनालीका अनुसार ती सबै पसलमा ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘एक त नयाँ संरचना बनेपछि आवतजावतमा समस्या छ । सवारी साधन एकतर्फी मात्रै प्रवेश गर्न दिइन्छ,’ उनले भने, ‘अर्कोतर्फ मेला लाग्दा आवतजावत पूर्ण रुपमा बन्द हुन्छ । मेला अवधिभरगत वर्ष पनि बिक्रीठप्प भएकोथियो ।’

नयाँ संरचनाले व्यापारमा गिरावट आएका बेला आर्थिकमन्दीले व्यापारीहरू प्रताडित भएको अर्का व्यापारी लक्ष्मी अधिकारी बताउँछन् । अझै त्यसमाथि स्थानीय व्यापारलाई नै असर गर्ने गरी आयोजना गर्न लागिएको मेलाका कारण व्यापारीहरू चिन्तित भएको अधिकारीले प्रतिक्रिया दिए । स्थानीय व्यापारीको समस्या, मर्म र भावना महानगरपालिकाले बुभ्mनुपर्नेमा उनले जोड दिए । पसल बन्द गरे पनि सरकारलाई तिर्नुपर्ने कर, बैंकको ब्याज, बिमा, कर्मचारीको तलब, बिजुली बत्ती, खानेपानीलगायतको खर्च नरोकिने उनको भनाइ छ । आफूहरूको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिन पनि पछि नपर्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

गत वर्ष सोही संस्थाले आयोजना गरेको मेलामा सौन्दर्यकरणका क्रममा रोपिएका विरुवा भाँच्नुका साथै सरसफाई र भत्किएका संरचना बनाउनेतर्फ आयोजकले ध्यान नदिएको स्थानीयको गुनासो छ । ‘मेलामा एक–दुई सय प्लेट मःम बिक्री होला । आयोजक र स्टल राख्नेहरूलाई केही फाइदा होला,’ व्यापारी श्रवणकुमार शर्माले भने, ‘तर राज्यले तोकेका सबै कर वर्षौंदेखि तिरेर विशुद्ध व्यापार गरेर बसेका हामीलाई डिस्टर्भ गर्नुभएन ।’

ज्ञापनपत्र बुभ्mनै मेयर नागेश कोइरालाले स्थानीय व्यापारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । स्थानीय व्यापारीको समस्याबारे जानकार रहेको बताउँदै मेयर कोइरालाले मागबारे आफू गम्भीर रहेको स्पष्ट पारे ।


विराटनगर |  विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् ।

पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए । ‘सुन्दैछु यसपालि पनि यहाँ ८ दिन मेला लाग्दैछ रे । यसमा हाम्रो विरोध छ । अन्य खाली ठाउँमा लगाउँदा हुन्छ तर यहाँ लगाउने विषयमा हाम्रो विरोध छ,’ शर्माले भने, ‘व्यापार नभएर हामी त्यसै तनावमा छौं । अझै एकहप्तासम्म पूरै सडक ढाकेर मेला लगाउँदा सटर बन्द गरेर हामी घर बस्दा हुन्छ ।’

शर्माले शनिबार एकदिन फुटपाथमा सामान बिक्री व्यापारीलाई नदिने निकायले रोडै ढाकेर मेला र महोत्सव लगाउन दिन नहुनेमाजोड दिनुभयो । गत वर्ष नै अबदेखि हिमालय रोडमा मेला लगाउन नदिने सहमति भएको स्मरण गर्दै उनले भने, ‘यसपटक फेरि लगाउने हल्ला सुन्दैछु । यहाँ मेला लगाउने विषयमा हाम्रो गम्भीर आपत्ति र विरोध छ । गत वर्ष पनि मासु र विभिन्न परिकारको गन्धले पसलमा बस्नै समस्या भएको थियो ।’ शर्माले जनताको समस्या सुन्ने कोही नभएको पीडा पोखे । ‘यो रोडमा अहिलेको संरचना बनेपछि हामी कति समस्यामा छौं भन्ने कुरा त हामीलाई मात्रै थाहा छ,’ उनले थपे, ‘अझ सडक बन्द गरेर महोत्सव गर्दा हाम्रो हालत के होला । म त भन्छु यो सडक श्रापित सडक हो ।’

व्यापारी शर्मिला मैनालीले अन्य खाली ठाउँमा मेला लगाउन सुझाव दिनुभयो । उहाँले महानगरले मेला र महोत्सव लगाउन अनुमति दिन नहुनेमा जोड दिनुभयो । ‘बाटो भनेको हिंड्नका लागि हो । अहिले त एकतर्फबाट मात्रै सवारी चलाउन पाइन्छ । अहिलेको संरचना बनेपछि व्यापारमा ६० प्रतिशत गिरावट आएको छ,’ उनले भनिन्, ‘हाम्रो आवाजलाई सम्बन्धित निकायले सुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

अर्का व्यापारी सुदर्शन बरालले हिमालय रोडमा मेला लाग्दैछ भनेर सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको सुनाए । उनले कसैलाई पनि समस्या नहुने स्थानमा मेला गर्न आग्रह गरे । उनले हिमालय रोडमा मेला लगाए आफूहरू आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । ‘त्यसै पनि व्यापार छैन । त्यसमाथि सडक नै ढाकेर मेला लगाइयो भने त्यसले हाम्रो व्यापार पूर्ण रुपमा बन्द हुन्छ,’ बरालले थपे, ‘खाना महोत्सव भएकाले पकाएका खानाको गन्धले पसलमा बस्नै नसक्ने अवस्था आउँछ ।’

सो ठाउँमा मञ्जिना मुभिज क्रिएसनले आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव आयोजना गर्दैछ । क्रिएसनले केही दिनअघि पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको थियो । बरालले आयोजकलाई अन्य ठाउँमा लगेर महोत्सव गर्न आग्रह गरे । अर्का व्यवसायी खेमराज ढुंगानाले पीडामा रहेका व्यापारीलाई महोत्सवले झनै पीडा दिने प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रै चिनेजानेका भाइभतिजहरूले मेला गर्दैछन् तर यो मेला यहाँ नभएर कसैलाई डिस्टर्भ नहुने स्थानमा आयोजना गर्दा राम्रो हुने थियो । पक्कै पनि हाम्रो समस्या आयोजक र सम्बन्धित निकायले सुन्नेछ ।’

व्यापारी पप्पु देवले सार्वजनिक रोडमा मेला गर्न नहुनेमा जोड दिए । आफूहरूको जीविकोपार्जन व्यापारबाटै भइरहेकाले मेलाले बिक्रीवितरणमा समस्या हुने उनको भनाइ थियो । अर्कातिर मेलामा फोहोर हुनुका साथै हल्ला हुँदा स्थानीयलाई निकैसमस्या हुनेदेवलेबताए । गत वर्षको मेलाभरि आफूले १ सयको पनि बिक्रीनगरेको उनलेस्मरणगरे । ‘अघिल्लो वर्ष पनि मेला आयोजना गरिएको थियो त्यतिबेला दिनमा एक सयको पनि व्यापार भएको थिएन । 

बिहान–बिहान पसल खोलेर दिउँसो बन्द गरेको थिएँ,’ देवले भने, ‘अब  त त्यस्तो समस्या नहोला भनेको फेरि पनि मेला आयोजना हुँदैछ भन्ने सुन्दैछु ।’ पसल बन्द गरे पनि सरकारलाई तिर्नुपर्ने कर, बैंकको ब्याज, बिमा, कर्मचारीको तलब, बिजुली बत्ती, खानेपानीलगायतको खर्च नरोकिने उनको भनाइ छ । उनले भने, ‘म हात जोडेर बिन्ति गर्छु, यो रोडमा कुनै मेला र महोत्सव नलगाइयोस् । हाम्रा पीडालाई सबैले सुनिदिनोस् ।’


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने दाबी गर्नुभयो । ‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । तब मात्रै देशको विकास हुन्छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले नीति नियम निर्माण गर्ने हो । त्यसको कार्यान्वयन गर्ने भनेको कर्मचारीहरूले नै हो ।’

कर्मचारी स्थायी सरकार भएको बताउँदै स्थायी सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिहरू ५–५ वर्षमा जनताबाट अनुमोदित हुनुपर्ने बताउँदै मेयर कोइरालाले भने, ‘कर्मचारीहरूले एकपटक लोकसेवा पास गर्दा भयो तर राजनीति गर्ने हामीले त ५–५ वर्षमा जनअनुमोदित हुनुपर्छ । कर्मचारीहरूले जनतालाई दिने सेवा र कामसित जनप्रतिनिधिको भविष्य जोडिएको हुन्छ ।’

कोइरालाले कर्मचारीका समस्या समाधानका लागि आफू सधैं लागिपर्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीका हकअधिकार स्थापित गर्न जस्तोसुकै पहल गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले निजामती कर्मचारीहरू व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिवसका दिन एकपटक हरेक कर्मचारीलेआत्मसमीक्षागर्नु जरुरी रहेको स्पष्ट पार्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निजामती कर्मचारीहरू अझै पनि व्यावसायिक हुन नसकेको प्रस्ट पार्नुभयो । ‘हामी निजामती सेवामा रहेका कर्मचारीहरू कोही पनि कमजोर छैनौं । सबैको क्षमता छ,’ उनले भने,‘तर अझैपनि हामी व्यावसायिक हुन सकेका छैनौं ।’

सरकारी कर्मचारीहरूले स्रोत र साधनको अभावका बीच पनि जनतालाई दिने सेवामा कुनै कमी नराखेको भट्टराईको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू एसीमा बसेर काम गर्छन् । उत्तिकै क्षमता र दक्षता भएको सरकारी कर्मचारी भने तरतरी पसिना चुहाउँदै जनताको सेवा गरिरहेका हुन्छन् । थुप्रै समस्याहरू छन् ।’

कार्यक्रममा निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष कृष्ण भट्टराई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष फडिन्द्र अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका सचिव नेत्र खतिवडा, शालिकराम कोइराला, काशी पराजुलीलगायतले ७ वर्षदेखि निजामती कर्मचारी ऐन संशोधन नहुँदा कर्मचारीहरू अन्यायमा परेको विचार व्यक्त गर्नुभएको थियो ।


झापा, भदौ २२ गते । सुरेन्द्र भण्डारी-  बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ ।

आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले आफ्नो जन्मोत्सववको अबसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका थिए । यस अघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए ।

सोही क्रममा कार्कीले पनि कोषमा रकम सहयोग गरेका हुन् ।  रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।

 


बिराटनगर | विशेष सुचनाको आधारमा जिल्ला मोरङ जिराटनगर मनपा वडा नं. १२ स्थितमा अनलाइन  यप्फ बाट सट्टेबाज खेलाउने वडा न १२ कै वर्ष  २० को उत्सव अर्याल  र  १८ को उत्कृष्ट अर्यालले प्रयोग गरेको मोबाईल सेटमा 1xbet लगायतका एप्स डाउलोड गरी सञ्चालन गर्ने उपकरण बरामत गरिएको छ |

अनलाइन बाट डिजिटल खोल्ने खोलाउने ति खाताहरु समेतबाट सट्टेबाजी जस्ता गैर कानुनी खेलखाउने गरेको प्रहरीले सुराकि पाए पछी तिनीहरूलाइ प्रकाउ गरेको प्रहरीले जनाएको छ |

घरकोठामा खान तलाशी गर्दा कम्प्युटरको CPU थन-१, राउटर  थान-१ मोबाईल २ थान समेत बरामर्द गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खिटएको टोलीले जमजत २०८१/०५/१८ गते पक्राउ गरी मुलुकी अपराध संजहता २०७४ बमोजिम सट्टे बाजि गर्न नहुने काम गरेको कसुरमा जिल्ला अर्दालत मोरङबाट म्यार्द थप गरी आिश्यक अनुसन्धान भईरहेको जनाएको छ |



विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योन्जन तामाङ्गको पुनर्बहाली भएको छ ।

उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गरिदिएको हो ।

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८०  चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए । 

त्यसपछि तामाङ उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । भदौ २ं० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमो पुनर्बहाली गर्ने आदेश दिएको हो ।

लामो समयदेखि कराँतेमा सक्रिय रहेका  तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए ।

यता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव  कृष्ण बस्नेत ९ पर्शुराम ० ले भने योञ्जनको नियुक्तिनै वैधानिक तवरले नभएको बताउँदै वैधानिक नियुक्ति नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्ने कुरै नउठ्ने बताए ।

 योञ्जनलाई तत्कालिन सदस्य सचिव हंशराज वाग्लेले बोर्ड बैठकबाट बोर्ड ऐन अनुसार नियुक्ति गर्नु भएको होइन बस्नेतले भने  योञ्जनलाई बोर्ड बैठकबाट नभएर सदस्य सचिवले आफ्नो लेटरप्याडमा मनपरि किसिमले नियुक्ति गरेको विषयमा अख्तियारमा समेत उजुरी परेकोले , उजरीको टुंगो नलागे सम्मका कुनै पनि कामकाज नगर्नु , महत्व निर्णय नगर्नु भनेर निलम्बन मात्र गरेको हुँ ।

बस्नेतले अदालतले हाल योञ्जनको हकमा फैसला गरेको जस्तो देखिए पनि अदालतले अवैधानिक तवरले नियुक्त भएका योञ्जनको विपक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे । 


विराटनगर । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशमा एक दिवसीय प्रशिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेश कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुकोसहभागितारहेकोथियो । 


कार्यक्रममा अनुशासन आयोगका सचिव प्राध्यापक डाक्टर भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अध्यक्ष केशब बडालले समग्र पार्टी नीति, अनुशासन र पारदर्शीतालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा एमाले स्थायी समिति  सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले  भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठकको निर्णयका विषयमा जानकारी गराउनुभएको थियो ।  उहाँले कोशी प्रदेशमा नेकपा एमालेको अभियान र  नेतृत्वको कतव्र्यका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको अन्त्यमा नालापानी सम्बन्धि जानकारीमूलक चलचित्र समेत प्रर्दशन गरिएको थियो ।


विराटनगर । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको  थियो ।

स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिइन् । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि  रहेको आलीले बताइन् ।

सवै कक्षागत अनुसार विजयी भएका थिए । नर्सरीको छात्रतर्फ सुभयान्स गौतम प्रथम भए भने छात्रातर्फ आराध्या कटवाल भइन् । दोस्रो छात्रतर्फ मयंक सिंह तथा तेस्रो इभान निरौला र आजाद अन्सरी भए । त्यस्तै छात्रातर्फ दोस्रो फतिमा तबरेज र तेस्रो आन्सी आचार्य भइन् ।

एकेजीतर्फ छात्रतर्फ यूभानजंग कार्की प्रथम भए भने छात्रातर्फ यान्छेन तामाङ भइन् । दोस्रो छात्रतर्फ प्रियान्स सुवेदी तथा तेस्रो आयन भण्डारी भए । त्यस्तै छात्रातर्फ दोस्रो क्रिस्टिना थापा मगर र तेस्रो इमा राई भइन् ।

त्यसै गरि यूकेजी छात्रतर्फ दिप श्रेष्ठ प्रथम भए भने छात्रातर्फ काब्या वाग्ले भइन् । दोस्रो छात्रतर्फ दिभ्यान्स मानन्धर तथा तेस्रो प्रसिद्ध भट्टराई भए । त्यस्तै छात्रातर्फ दोस्रो अभ्नी चौैधरी तथा तेस्रो  सहाना थापा र आरोशी यादव भइन् ।

त्येसैगरि कक्षा १ छात्रतर्फ क्रितेश कार्की नेउपाने प्रथम भए भने छात्रातर्फ नोसिका श्रेष्ठ भइन् । दोस्रो छात्रतर्फ आयुपजंग राउत तथा तेस्रो आयुस शर्मा पाण्डे भए । त्यस्तै छात्रातर्फ दोस्रो शालिन उप्रेती र तेस्रो अनाहिता साह भइन् ।

विजेता हुने विद्यार्थीलाई पछी स्कुलमा भब्य कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गर्ने स्कुलले जनाएको छ ।


विराटनगर | विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रुपमा देखा परिरहेको बताउनुभयो । 

उहाँले नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो । गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका कारण मानव बेचबिखन बढेको उहाँको निष्कर्ष थियो । मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा फरेन नेपालका सचिव अधिकारकर्मी खिला निरौलाले मानव बेचबिखनविरुद्ध विद्यार्थी तथा बालबालिकाहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । छिट्टै प्रलोभनमा पर्ने भएका कारण बढी मात्रामा बालबालिकाहरू मानव बेचबिखनको शिकार हुने गरेको उहाँको भनाइ थियो । बेचबिखनबाट जोगिन सचेत हुनुपर्नेमा निरौलाको जोड थियो |

 वडासचिव  चन्द्रानन्द यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूमा जनचेतना जागृत भई बेचबिखनबाट जोगिने दाबी गर्नुभयो । उहाँले दिवसका दिन मात्रै नभएर अन्य समयमा पनि विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको     थियो ।


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–१० तीनटोलियास्थित मानवसेवा आश्रममा आश्रितहरूसित खुसी साटासाट गर्नुभएको छ । मेयर कोइरालाले आश्रमका आमाहरूसित गीतका गीतमा नाचेर खुसी साट्नुका साथै हौसलासमेत दिनुभयो ।

महानगरपालिकाले तीजका अवसरमा आश्रम परिसरमा आयोजना तीज मिलन कार्यक्रममा मेयर कोइराला आश्रित आमा र दिदीबहिनीहरूसित नाचेर खुसी साट्नु भएको छ । मेयर कोइराला तीजका गीतमा आश्रित आमा तथा दिदीबहिनीहरूसित छमछमी नाँच्नुभयो । मेयर नाचेपछि आश्रित आमा र दिदीबहिनीहरू पनि खुसीले उफ्रीउफ्री नाचेका थिए ।

हिन्दू नेपाली महिलाहरूको महान चाड तीजमा आश्रित दिदीबहिनीहरूसित रमाइलो गर्ने र उनीहरूभित्र रहेको पीडालाई भुलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ । महानगरपालिका मानवसेवा आश्रम संरक्षकसमेत हो । महिला र पुरुष राखेको दुवै भवनको घरभाडा महानगरले नै तिर्दै आएको छ । आश्रित आमा र दिदीबहिनीहरूलाई तपाईंहरूको अभिभावकका रुपमा महानगरपालिका छ भन्ने विश्वास दिलाउन कार्यक्रम आयोजना गरिएको मेयर कोइरालाले बताउनुभयो ।

 ‘विभिन्न कारणले आश्रम बस्न बाध्य महिला दिदीबहिनीहरूलाई सिंगो महानगरपालिका तपाईंहरूको साथमा छ भन्नका लागि पनि म आफैं उपस्थित भएको छु’ मेयर कोइरालाले भन्नुभयो, ‘मानवसेवा आश्रमका लागि महानगरले विगतदेखि नै सहयोग गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ ।’

सो अवसरमा आश्रितलाई तीजका विशेष परिकार खुवाउनुका साथै तीजका गीतमा नाचेर रमाइलो गरिएको थियो । त्यस्तै महानगरका तर्फबाट मेयर कोइरालाले ८४ थान झुल, ९४ कार्टुन विभिन्न खाजाका परिकारहरूसमेत प्रदान गर्नुभएको थियो । छोटो समयमा अत्यन्तै राम्रो र फलदायी कार्यक्रम भएको कार्यक्रम संयोजक पुनमकुमार दाहालले बताउनुभयो ।

 मानवसेवा आश्रमले महिला र पुरुषलाई बेग्लाबेग्लै स्थानमा राखेको छ । तीनटोलियाको आश्रममा २ वर्षका बालबालिकादेखि ९२ वर्षका ज्येष्ठ महिलाहरूले आश्रय लिएको प्रविण खड्काले जानकारी दिनुभयो । त्यस्तै पुरुष वन कार्यालय छेउको आश्रममा ७० जना पुरुषलाई राख्ने व्यवस्था मिलाइएको आश्रमकी पार्वती तिवारीले जानकारी दिनुभयो ।  


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ ।

तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर कोइरालाले भन्नुभयो, ‘ती सबै जातजातिलाई सांस्कृतिक रुपमा तीज पर्वले एकताबद्ध बनाएको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले सबै भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने बताउनुभयो । तीजलाई खर्चिलो र भड्किलो हुनबाट जोगाउनुपर्ने चुनौतीसमेत देखिएको उहाँको भनाइ थियो । मेयर कोइरालाले भन्नुभयो, ‘सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु आउने गरेको छ । त्यस्ता टिकाटिप्पणी नआउने गरी सभ्य र मर्यादित रुपमा मनाउन सबैलाई आग्रह पनि गर्दछु ।’

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघिल्लो वर्ष पनि तीज विशेष कार्यक्रम गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध बलियो हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले कर्मचारीहरुलाई कार्यसम्पादनमा थप हौसला र ऊर्जा प्राप्त हुने विचार व्यक्त गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापा, वातावरण शाखा प्रमुख राकेश ठाकुरलगायतसमेतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर कार्कीले तीज एउटा निश्चित समुदाय र महिलाको मात्रै हो भन्ने भाष्य चिरिँदै गएको बताउनुभयो । उहाँले सबै समुदायले साझा पर्वका रुपमा तीजलाई ग्रहण गरिसकेको दाबी गर्नुभयो । कार्कीले तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रहसमेत गर्नुभयो ।

कानुन शाखाकी प्रमुख शारदा थपलियाले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति सहभागीहरुले तीजसँग सम्बन्धित विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरका महिला जनप्रतिनिधि, महानगरअन्तर्गत सबै कार्यालयका महिला कर्मचारी, महिला स्वयंसेविका, महिला नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।


 बिराटनगर  १९ गते | पत्रकार सम्मेलन) 

विवरण ;- जिल्ला धनकुटा पाख्रीबास नगरपालिका वडा नं। ५ घर भई जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं। ७ मालति टोल स्थितमा बस्ने वर्ष ३१ को अर्जुन कार्कीको श्रीमती वर्ष अ। २१ कि अस्मिता पौडेलको निजको श्रीमान अर्जुन कार्कीसँग समान्य वादविबाद हुँदा मिति २०८१।०५।१४ गते निज अस्मिता पौडेलले साथमा निजको १ वर्षकी आईङ्का कार्की र ३ वर्षकी अर्पना कार्की दुई वटा छोरी लिई हराएकी हुँदा खोज तलास गरी पाउँ मिति २०८१।०५।१५   गते विहान ईलाका प्रहरी कार्यालय वेलवारीमा हुलिया निवेदन दिएको ।

मिति २०८१र०५-१५ गते अ। १६- ३० बजेको समयमा सुन्दरहरैचा नगरपालिका वडा नं। ७ स्थित केरा बगानमा दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर स्थानियले प्रचौ गछियामा जानकारी गराउनासाथ ई।प्र।का।वेलवारी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक नवराज कार्की समेत घटना स्थलमा खटि गई घटनाको प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न भएको ।

घटना पश्चात जान सक्ने ठाउहरुमा खोज तलास कार्य जारी राखेकोमा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा मिति २०८१।०५।१९ गते बिहानको अ।०४स्३० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं।५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिडरहेको अवस्थमा अस्मिता पौडेल (कार्की) फेला पारी पक्राउ गरी ल्याईएको ।

घटनाका सम्वन्धमा प्रारम्भिक रुपमा खुल्न आएको कुराहरु;-

 निज अस्मिता पौडेल (कार्की) ले मिति २०८१।०५।१४ गते अ। १८-३० बजेको समयमा श्रीमान संग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछी  निजले दुई वटी छोरीहरु साथमा लिई वारदात स्थानमा गई सोही बेलुकी निजहरुलाई बिष सेवन गराई कर्तव्य गरी मारी वारदात स्थानमा रहेको केरा बगानमा राखी थोरै मात्रामा बांकी रहेको बिषादी आफुले पनि  सेवन गरी सो स्थानबाट म हिडेकी हुँ भनि बताएकिले निजैले निजका छोरीहरु १ वर्षकी आईङ्का कार्की र ३ वर्षकी अर्पना कार्कीलाई बिषादी सेवन गराई कर्तव्य गरी मारी फरार भएको भन्ने खुल्न आएको ।

बारम्वार श्रीमान श्रीमति विच घरायसी कुरामा वाद विवाद हुने गरेको भन्ने खुलाएको ।

 घटनाका सम्बन्धमा अभियुक्तको श्रीमानले आज मिति २०८१।०५।१९ गते निजले कर्तब्यगरी नावालिका छोरीहरुको हत्या गरी फरार भएकोमा पक्राउ परी आएकोले कानुन वमोजिम ज्यान सम्वन्धी कसुरमा कारवाही गरि पाउं भनी किटानी जाहेरी दरखास्त दिएकोमा घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न पर्ने भएकोले सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ४ ९चार० म्याद थप  गरी अनुसन्धान कार्य अगाडी बढाईएको ।


विराटनगर १९ भदौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १÷१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ । 

महासंघका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानीमा अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङका तर्फबाट सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नु भएको थियो  । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । बीमा अवधि सम्म संक्रमित भएका मध्ये २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बीमा अवधि सम्म संक्रमित भएका र सम्पूर्ण कागजात पुगेपनि अन्य २९ जनाले भुक्तानी पाउन बाँकी रहेको थियो । 

०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालिन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो । 

अदालतको अवहेलना मुद्धा दर्ता अघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेश बमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १०गते मुद्धादर्ता गरेकोथियो । उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित ७ दिन भित्र आफै वा कानुन बमोजिम प्रतिनिधि मार्फत तथा विपक्षी नंं ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विपक्षी नं. ५ अर्थ मन्त्रालयले उच्च सरकारी वकिल कार्यालय विराटनगर मार्फत लिखित जवाफ पेश गर्न उच्च अदालतले आदेश दिएको थियो । उच्चको आदेश बमोजिम बिमा कम्पनी र नेपाल बीमा प्राधिकरणले लिखित जवाफ पेश गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ५ अर्थ मन्त्रालयले जवाफ पेश गर्न बाँकी रहेको थियो ।  

अदालतको अवहेलनामा कारवाही मुद्धाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको छ । गत साउन २२ गते नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासंघ कार्यालयमा गरिएको अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाउनु भएको थियो । काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग छलफल गर्ने उहाँले बताउनुभएको थियो ।


झापा, भदौ १८ गते । सुरेन्द्र भण्डारी-महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् ।  झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।


कार्यक्रमको अवसर पारेर महिला अधिकारकर्मीसहित महिला उद्यमीलाई सम्मान गरिएको छ ।  अधिवक्ता लक्ष्मी खनाल कोइराला ९ नारी सम्मान० र महिला उद्यमी शर्मिला अधिकारी ९युवा महिला प्रोत्साहन पुरस्कार०  प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोला, विशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेसहितले सम्मानगरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघकी निर्बतमान महिला उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रममा  भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ, एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाली कांग्रेसकी नेतृ रञ्जीता कार्की लगायतले शुभकामना दिएका थिए । यसैबीच महिलाहरुलाई सामुहिक रुपमा दर समेत खुवाइएको थियो ।

 सञ्चारकर्मी तथा महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया,बिर्तामोड उद्योग वााणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली, लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमकै बीच महिला उद्यमी समूहकी सदस्य कविता पोखरेलले आफ्नो जन्मोत्सवको अवसर पारेर ‘व्यवसायी राहत कोष’का लागि ११ हजार रुपैयाँ प्रदान गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको छ । 


विराटनगर | ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ ।

असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । 

बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने मेयर कोइरालाको भनाइ छ । महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान सुरु गरिएको महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । निर्माण कम्पनीले तीव्र रुपमा कार्य गरिरहेको उहाँको भनाइ थियो ।

महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ । हाल खम्बा गाड्ने कार्य भइरहेको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ई थ्री यार्सा जेभी काठमाडौंले हाल धमाधम कार्य गरिरहेको छ ।

ट्राफिक लाइट जडानको कार्य आगामी असोज मसान्तसम्म सकिने महानगरको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् ।  महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुनेछ ।

 जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने मेयर कोइरालाको भनाइ छ । ‘बढ्दो जनघनत्वसँगै अत्यधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ,’ मेयर कोइरालाले भने, ‘विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न पहिलो चरणमा ५ स्थानमा जडान सुरु भइसकेको छ ।’ उपमेयर शिल्पा निराला कार्कीका अनुसार ट्राफिक लाइट जडानपछि यसअघि महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या हट्नेछ ।

सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताउनुभयो । अब लाइट जडानपछि भने थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उहाँको भनाइ थियो ।


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताउनु भएको छ ।

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उहाँले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताउनुभएको छ । 

वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसितकार्यसम्पादन सम्झौता गरेको स्मरण गराउनु भयो ।

गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरुको मुख्य भूमिका हुने उहाँको भनाइ थियो । ‘सबै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि हुनुपर्छ । पछिल्लो समय केही विद्यालयले राम्रो प्रगति गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर ४ मा पनि गोग्राहा र आधारभूत विद्यालय कञ्चनबारीले राम्रै प्रगति गरिरहेका छन् ।’

मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रुपान्तरण अभियान सुरु गरेको प्रस्ट पार्नुभयो ।

 उहाँले कार्यक्रममा वडाभित्र सञ्चालित ४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका अध्यक्षलगायतलाई राखेर अभियान सुरु गरिएको बताउनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने बताउनुभयो । 

उहाँले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सबैले आ–आफ्नो दायित्व पूरा गरेमा शिक्षामा सुधार आउने बताउनुभयो । उहाँले आफूहरुको प्रयासले मधेश प्रदेशका अत्यन्तै कमजोर विद्यालयमा पनि सुधार देखिन थालेको दाबी गर्नुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.