Websoft University

अब पनि सुधार नहुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन -मेयर


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताउनु भएको छ ।

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उहाँले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताउनुभएको छ । 

वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसितकार्यसम्पादन सम्झौता गरेको स्मरण गराउनु भयो ।

गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरुको मुख्य भूमिका हुने उहाँको भनाइ थियो । ‘सबै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि हुनुपर्छ । पछिल्लो समय केही विद्यालयले राम्रो प्रगति गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर ४ मा पनि गोग्राहा र आधारभूत विद्यालय कञ्चनबारीले राम्रै प्रगति गरिरहेका छन् ।’

मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रुपान्तरण अभियान सुरु गरेको प्रस्ट पार्नुभयो ।

 उहाँले कार्यक्रममा वडाभित्र सञ्चालित ४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका अध्यक्षलगायतलाई राखेर अभियान सुरु गरिएको बताउनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने बताउनुभयो । 

उहाँले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सबैले आ–आफ्नो दायित्व पूरा गरेमा शिक्षामा सुधार आउने बताउनुभयो । उहाँले आफूहरुको प्रयासले मधेश प्रदेशका अत्यन्तै कमजोर विद्यालयमा पनि सुधार देखिन थालेको दाबी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.