Websoft University

हुलाकी सडक फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीको प्रतिबद्धता-भोलि बुधबारदेखि नै तीव्र रुपमा कार्य गरिने


विराटनगर  | विराटनगर–४ र ५ नम्बर वडाको सिमानास्थित जामुनगाछी–केसलिया हुलाकी सडक आगामी फागुनभित्र कालोपत्रे गरिसक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहल र मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईको समन्वयमा मंगलबार स्थानीयवासी, निर्माण व्यवसायी र हुलाकी सडक आयोजना प्रमुखसहितको छलफलमा निर्माण व्यवसायी वासु उप्रेतीले फागुनभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।

 लामो समयदेखि सो सडक निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । स्थानीयले पटक–पटक महानगरपालिका र जिल्ला प्रशासनको सहयोग मागेका थिए । आवतजावतमा समस्या भएको भन्दै स्थानीयले बाँससमेत तेस्र्याएर विरोध जनाउँदै आएका थिए ।

महानगरको सभाहलमा भएको छलफलमा निर्माण व्यवसायी उप्रेतीले भदौ २६ गते बुधबारदेखि नै काम सुचारु गर्ने बताए । महानगरका मेयर कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रजिअ भट्टराई, हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, निर्माण व्यवसायी वासु उप्रेती र स्थानीयवासीको उपस्थितिमा बुधबारदेखि नै निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । त्यस्तै दसैंअगाडि सबै खाल्डाखुल्डी पुरिसक्ने र तोकिएको मिति अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै धुदुवा पैनीको प्राकृतिक निकासका लागि कल्भर्ट बनाउने पनि निर्णय भएको छ । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर सो सडक आगामी असार मसान्तभित्र निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । २०७८ माघ २ गते ठेक्का सम्झौता भए पनि तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि दुईपटक म्याद थपिसकेको छ । सो सडक निर्माण सम्पन्न गर्न भ्याटसहित १७ करोडमा ठेक्का लागेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.